पर्यटन विभागले गर्यो ४ दिनमै ४ करोड राजश्व सङ्कलन

tourism board
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ चैत । हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै पर्यटन विभागले करीब चार करोड राजश्व सङ्कलन गरेको छ ।

विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख ९ हजार २९७ राजश्व उठेको जानकारी दिए। यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको जनाइएको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो । पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै रु तीन करोड ८७ लाख राजश्व उठेको छ ।

वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५ भन्दा बढी आरोही दलले पर्मिटका लागि निवेदन दिएकामा विभागले सोमबारसम्म नौ समूहलाई आरोहण अनुमति दिएको छ । यीमध्ये तीन सगरमाथासहित ल्होत्से, अन्नपूर्ण, कुम्भकर्ण, पुमरी, थापा पिक र छोपबमरी रहेका छन् । वैशाख महीनासम्म आरोहण अनुमति लिने भएकाले आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ ।

सन् २०१८ को यही मौसम (वसन्त ऋतु)मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए ।

सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । विभागका अनुसार सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको छ । योमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको छ । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्