१५ गते मसाल जुलुस,१६ गते बन्द : विप्लव

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, १२ चैत । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगानी सम्मेलन केन्द्रीत आन्दोलन सुरु गरेको छ।

सरकारले मुख्य नेताहरुलाई धमाधम पक्राउ गरिरहेको बेलामा विप्लवले लगानी सम्मेलनलाई केन्द्रमा राख्दै बन्दको घोषणा गरेको हो। चैत १३ गतेदेखि चैत २४ गतेसम्म आयोजना गर्न लागेको विभिन्न कार्यक्रमहरु अन्तर्गत् १३ गते विभिन्न शहरहरुमा चोक सभादेखि २४ गते आमसभा सम्मका कार्यक्रमको आयोजना गरेको छ।

यसैको बीचमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको दोस्रो दिन विप्लव समूहले बन्दको आह्वान गरेको छ । विप्लवले जारी गरेको विज्ञप्तीमा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा बन्द गर्न लागिएको बताइएको छ। कक्षा १० मा पढ्ने विद्यार्थीहरुको परीक्षामा बाधा नपरोस् भनेर नै आफूहरुले शनिबार बन्द आह्वान गरिएको समेत विज्ञप्तीमा उल्लेख छ।

सरकारले आयोजना गरेको लगानी सम्मेलन यही चैत १५ र १६ गते काठमाडौंमा हुँदैछ । सो दिन विभिन्न देशका उच्च अधिकारी र लगानीकर्ताहरु नेपालमा आउँदैछन्। सोही दिन नै विप्लवले बन्द आयोजना गरेर सरकारलाई असहज वातावरण सिर्जना गरेका हुन्।