काठमाडौं। इन्धन कारोबारको एक मात्र सरकारी निकाय नेपाल आयल निगमले १० वर्षे रणनीति तयार गर्न लागेको छ। वार्षिक डेढ खर्बभन्दा बढीको कारोबार गर्ने निगम आगामी दिनमा कसरी जाने भनेर रणनीति बनाउन लागिएको हो।
कार्ययोजनामा आगामी १० वर्षमा निगम कसरी अगाडि बढ्ने भन्ने वृहत् रणनीति रहनेछ। निगमको पूर्वाधार कसरी बढाउने, इन्धनको ढुवानी लागत कसरी घटाउने र सूचना प्रविधिको कसरी अधिकतम उपयोग गर्ने भनेर रणनीति तयार गर्न लागिएको निगमले जानकारी दिएको छ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले १० वर्षका लागि दीर्घकालिन रणनीति तयार गर्न लागिएको जानकारी दिए। निगमको विनियमावलीले पनि १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको उनले जानकारी दिए।
हालको कार्ययोजनालाई सुधार गदै निगमलाई कसरी अगाडि बढाउने भनेर रणनीति तयार गर्न लागिएको उनको भनाइ छ। “वार्षिक डेढ खर्बभन्दा बढीको इन्धन कारोबार गर्ने निगम यथास्थितिमा अब चल्न सक्दैन, त्यसैले आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर रणनीति तयार गरिँदै छ,” उनले भने, “रणनीतिमा इन्धन ढुवानी लागत कसरी घटाउने, पूर्वाधारका क्षेत्रका कति लगानी गर्ने र सूचना प्रविधिको अधिकतम प्रयोग कसरी गर्ने भनेर रणनीति तयार गरिँदै छ ।”
निगमले ९० दिनलाई पुग्ने इन्धन भन्डारणस्थल निर्माणका लागि विभिन्न चार ठाउँमा जग्गा खरिद गरे पनि यसको निर्माण प्रक्रिया अगाडि बढन् सकेको छैन। निगमले तत्काल भने हाल भएको डिपोलाई स्तरोन्नति गर्ने भएको छ। निगमले पोखरा र विराटनगरमा रहेका डिपोको स्तरोन्नति गर्न लागेको छ।
बजारमा इन्धनको खपत बढ्दै गएपनि निगमसँग इन्धन भन्डारण गर्ने क्षमता कम हुँदा आपूर्तिमा सामान्य अवरोध हुँनासाथ बजारमा इन्धनको अभाव हुने गर्छ। निगमसँग अहिले ७१ हजार किलोलिटर भन्डारण क्षमता रहेको बजारमा इन्धनको खपत बढ्दै गएको छ।
यसमा पनि प्राविधिक कारणले पूर्ण क्षमतामा इन्धनको भण्डारण गर्न सकिँदैन। हाल वार्षिक इन्धन खपत १५ देखि २० प्रतिशतले बढ्दै गएपनि भण्डारण क्षमता भने बढाउन सकिएको छैन।
निगमसँग काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दीपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । जसमा पेट्रोल ५ हजार १ सय ८४ किलोलिटर, डिजेल ४२ हजार ४ सय र हवाई इन्धन ८ हजार ४ सय किलोलिटर भण्डारण क्षमता छ।
निगमका अनुसार हाल पेट्रोल ६ दिन, डिजेल ८ दिन र हवाई इन्धन १० दिनलाई मात्र माग धान्न सक्ने स्टक राख्न सकिन्छ। मासिक ८ सयदेखि एक हजार किलोलिटर डिजेल माग छ।
त्यस्तै पेट्रोल मासिक २५ हजारदेखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ हजारदेखि १५ हजार किलोलिटर र ग्यास २५ हजार टनदेखि ३० हजार टनसम्म माग छ।