यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन

Banijya mantralaye
?
लाेकपाटी न्यूज

काठमाडौँ,१३ चैत। यसवर्ष वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ ।

साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताए। उनका अनुसार विभागले नियमित रूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ।

चाडपर्व लगायतका समयमा खाद्यान्नमा बढी अनुगमन भइरहे पनि अरु समयमा समेत नियमितरूपमा अनुगमन गरिँदै आएको उनले बताए। “हामीले कति जना र कस्ता÷कस्ता व्यक्तिको टोली बनाएर अनुगमन गर्ने भन्ने भित्री रूपमा छलफल गर्छौँ”, उनले भने, “समय र व्यवसायको गर्ने भन्ने सूचना दिँदा व्यवसायी सजग बन्न सक्छन।”

नेपालको संविधान, २०७२ ले तीन तहलाई नै बजार अनुगमनको अधिकार दिएको निर्देशक महतले बताए। उनका अनुसार गत असोजमा जारी भएको उपभोक्ता संरक्षण ऐनले भने ‘अनुगमन अधिकृत’ ले मात्रै अनुगमन गर्न पाउने व्यवस्था गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अहिले ‘उपभोक्ता संरक्षण नियमावली’ मस्यौदा बनाइरहेको छ। यो नियमावली बनेपछि त्यसले नै तीन तहले कसरी अनुगमन गर्ने भन्ने टुङ्ग्याउने बताए।

उनले भने, “नियमावलीकै आधारमा सबै स्थानीय तहले अनुगमन, निरीक्षण र कमजोरी पाइएमा जरिवाना सजाय गर्न सक्नेछन।” नयाँ ऐनकै आधारमा विभागले अहिलेसम्ममा ११२ व्यवसायलाई स्थलगत कारवाही समेत गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्