सिरहा, १३ चैत । सिरहा र सप्तरीका १४ वटा खानेपानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका भन्दै ती उद्योगमा शिलबन्दी गरेको हो ।
गुण नियन्त्रण प्रमुख सुरेशकुमार सिंहले सप्तरीको विभिन्नका स्थानका पानी उद्योगमा मंगलबार अनुगमन गर्दा निर्देशिका विपरीत सञ्चालनमा रहेको पाइएकाले शिलबन्दी गरेको जानकारी दिए । उनका अनुसार शिलबन्दी गरिएका उद्योगहरुमा राजविराजस्थित ओम फुड्स एण्ड वेभेरेजेज इण्डष्ट्रिज, नेपाल वेभेरेजेज, सप्तरी कञ्चनरुप नगरपालिका २ स्थित वैधनाथ जल उद्योग, कञ्चनरुप नगरपालिकाको ठेलियाँस्थित शिवशङ्कर फुड एण्ड बेभेरेजेज इण्डष्ट्रिज छन् ।
यसैगरी सप्तरी शम्भुनाथ नगरपालिकास्थित वीरेन्द्र एण्ड सन्स फुड वेभेरेजेज इण्डष्ट्रिज र एसएच एण्ड सन्स पानी उद्योग खोक्सरलाई पनि शिलबन्दी गरिएको छ ।
यसअघि पुसमा मापदण्ड विपरीत सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका ७ चोहर्वास्थित इन्दिरा जल, आनन्द जल, गोलबजार नगरपालिका– ६ स्थित कमलामाई पानी उद्योग र सीता हेल्दी कुलिङवाटर इण्डष्ट्रिज, लहान नगरपालिका–१ स्थित सीता मिनरल वाटर फैक्र्टी, लहान नगरपालिका–७ स्थित ढलकोट माता मिनरल वाटर उद्योग र कर्जन्हा नगरपालिका– १० स्थित मिथिला पानी प्रशोधन उद्योगमा शिलबन्दी गरेको प्रमुख सिंहले बताए ।
मापदण्ड नपुगेको र न्यूनतम सरसफाइ समेत नपाइकाले ती उद्योगमा सिलबन्दी गरी पानीको उत्पादन बन्द गराइएको उनको भनाइ छ ।