काठमाडौं, १३ चैत्र। राष्ट्रिय फोटो पत्रकार समूह आफ्नो स्थापनाको २२औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। वार्षिकोत्सवका क्रममा समूहले वैशाख १३ गते काठमाडौंमा विशेष समारोह गर्ने भएको छ।
समूहले नयाँ युवा फोटो पत्रकारलाई १५ विधामा सम्मान गर्ने जानकारी गराएको हो। समारोहमा अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ। अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५’ राखिएको बुधबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
समूहले लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि रु. ५० हजार प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरि दैनिक गतिविधिका फोटो खिच्ने पत्रकारका लागि दैनिक जीवन फोटो पत्रकारिता विधा पुरस्कार, उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार, महिला फोटो पत्रकारिता पुरस्कारको पनि घोषणा गरिएको छ।
सम्मानका अन्य विधाहरुमा, पर्यटन तथा संस्कृति फोटो पत्रकारिता पुरस्कार, आर्थिक फोटो पत्रकारिता पुरस्कार, राजनीतिक फोटो पत्रकारिता पुरस्कार, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कार रहेका छन्। त्यस्तै सात वटै प्रदेशबाट एक/एक जना उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ।
पूराना फोटो पत्रकार हरिगोपाल प्रधानको नाममा स्थापित सम्मानलाई यस वर्ष वैशाख १३ गते विषेश अवार्ड समारोहमा वितरण गरिने आयोजकले जनाएको छ। समूहले अवार्डमा सहभागिताका लागि सम्मानका लागि ७ बुंदे नियमसमेत सार्वजनिक गरेको छ।
विभिन्न छापा तथा अनलाइन माध्यममा कार्यरत फोटो सम्पादकहरु मध्येबाट एकजना बरिष्ठ फोटो पत्रकार मध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष र कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिने समूहका महासचिव प्रदीपराज वन्तले जानकारी दिए।