काठमाडौं, १४ चैत । नेपाल यातायात व्यवसायीहरु कम्पनी मोडलमा जाने भएका छन् । बुधबार बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यसम्पादन सचिवालयको बैठकले सबै यातायात समितिलाई अनिवार्य रुपमा कम्पनी मोडलमा जान निर्देशन दिएपछि उनीहरु मोडलमा जाने भएका हुन् ।
महासंघका सबै सदस्य संस्थालाई २०७६ जेष्ठ १८ गते भित्र रुपान्तरण गर्न बैठकले निर्देशन दिएको हो । यसअघि विभिन्न बहानामा कम्पनीमा जान आनाकानी गर्दै आएका व्यवसायीहरुले सरकारले अन्तिम पटक थप गरेको म्यादभित्र कम्पनीमा जाने निर्णय गरेका हुन् । यो सगै यातायात क्षेत्रको सिन्डिकेट अन्त्य हुने अपेक्षा गरिएको छ ।
कम्पनीमा गएपछि यातायात कम्पनीहरुले वार्षिक रुपमा हिसावकिता राख्नुपर्ने छ भने त्यसबापतको कर राज्यलाई पनि तिर्नुपर्ने हुन्छ । बैठकले नेपाल सरकारबाट कम्पनी ऐन २०६३ को दफा ९ मा संम्शोधन गरी यातायात संस्था दर्ता ऐन २०३४ मा रहेका संस्थालाई एक पटक लागि असीमित सेयर सदस्य रहने गरी कम्पनीमा जान पाउने निर्णयलाई स्वागत समेत गरेको छ ।
सबै यातायात समितिलाई कम्पनी मोडलमा जाँदै सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागमा सवारी पन्जीकृत गर्न समेत बैठकले निर्देशन दिएको थियो ।