कलाकार सङ्घमा ‘हाम्रा’ होइन, ‘राम्रा’ मान्छे छानौं : बिमला केसी (अन्तर्वार्ता)

bimala kc
लाेकपाटी न्यूज

नेपाल चलचित्र कलाकार सङ्घको १७ औं साधारण सभा यही चैत्र २३ गते हुँदैछ। यो साधारण सभा मात्र नभएर सङ्घको अधिवेशन पनि हो। अधिवेशनबाट सङ्घको नयाँ कार्यसमिति निर्वाचित हुनेछ। सङ्घका बहालवाला अध्यक्ष रामकिशोर बोगटीको दुर्घटनामा परी निधन भएपछि नेतृत्वका लागि नयाँ चुनौति थपिएको छ।

यसपटकको निर्वाचनमा कोषाध्यक्ष बिमला केसीले महासचिवका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छिन्। दर्जनौं चलचित्रहरुमा मूख्य नायिकाको अभिनय गरेकी केसी एक दशकदेखि सङ्घको विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छिन्। कोषाध्यक्षको जिम्मेवारीमा रहँदा सङ्घको आर्थिक प्रगति र सुशासनका लागि आफूले गरेको योगदानका आधारमा महासचिवमा भिड्न खोजेकी केसीसँग लोकपाटीका मधुरीमा पाण्डेवेदनाथ ढकालले गरेको कुराकानी।

आउँदो २३ गते नेपाल चलचित्र कलाकार सङ्घको अधिवेशन तोक्नुभएको छ, कस्तो छ अधिवेशनको तयारी ?

कलाकार सङ्घको इतिहास झण्डै तीन दशक लामो छ। यो हाम्रो १७ औं साधारण सभा हो। यसपटकको साधारण सभा चुनावी साधारण सभा पनि भएकाले अलि जोडतोडका साथ लागिरहेका छौँ। हाम्रो पहिलो जिम्मेवारी साधारण सभालाई सफल पार्नु हो। यसका लागि कलाकार सङ्घका सम्पूर्ण सदस्यहरुलाई समेट्नु, कलाकार सङ्घमा नवीकरण गर्न छुट्नुभएका साथीहरुलाई जानकारी दिने काममा व्यस्त छौं।

त्यसैगरि अधिवेशनका लागि आवश्यक पर्ने नीतिगत मुद्दाको पनि तयारीमा छौं। अधिवेशनमा सकेसम्म सबै साथीहरुको सहभागिता होस्, सबैको विचारले स्थान पाओस्, सबैलाई हाम्रो सङ्घ भन्ने अपनत्व महशुस होस् भन्नेमा छौं। त्यसका लागि नै हाम्रो दौडधुप चलिरहेको छ। अधिवेशनलाई अर्थपूर्ण बनाउने कोशिसमा छौं।

अधिवेशनमा छलफलका मुख्य मद्दा के–के छन् ?

हुन त हरेक साधारण सभामा केही न केही नयाँ त हुन्छ नै। विधान संशोधन, प्रतिवेदन प्रस्तुतको काम लगभग नियमित एजेण्डा नै हुन्। यो कलाकार सङ्घको चुनावी अधिवेशन पनि हो। त्यसकारण नयाँ कार्यसमिति कस्तो बनाउने ? सङ्घको भविष्यका लागि कस्तो नेतृत्व चाहिन्छ ? यो पनि हाम्रो बहसको विषय नै हो। यस प्रारम्भिक तयारी भएको छ। तर, पर्याप्त छलफल भइरहेको छैन।

सङ्घमा आवद्ध कलाकारहरुको वृत्ति विकास, हित र उनीहरुको अपनत्व कसरी स्थापित गर्ने ? यो पनि अधिवेशनको अर्को एजेण्डा हो। नेपाली चलचित्र क्षेत्रमा नै एउटा कलाकारले कसरी जीवन देख्न सक्छ ? कसरी उनले जीवन धान्न सक्छ ? कलाकारिता पनि एउटा ‘प्रोफेसनल सेक्टर’ हो भन्ने मान्यतालाई कसरी स्थापित गर्न सकिन्छ, यसमा हाम्रा आफ्नै सीमा र कमजोरी के छन् ? नेपाली चलचित्र उद्योगको भविष्य र समस्या पनि हाम्रा एजेण्डा हुन्। यी विषय पनि अधिवेशनका मुद्धा हुन् र हुनुपर्छ।

यतिबेला सङ्घ एउटा विशिष्ट परिस्थितिमा छ। अधिवेशनकै पूर्वसन्ध्यामा सङ्घका अध्यक्षज्यूको असामयिक निधन भयो। हामी अहिले अभिभावकबिहीन भएका छौं। सङ्घको भविष्यका लागि उहाँले सोचेका सपना, कोरेका योजना अलपत्र छन्, त्यसको व्यवस्थापन पनि हाम्रै काँधमा आएको छ। सबैको अभिभावक, सबैलाई समेट्ने, गतिशील र जुझारु नेतृत्व हाम्रा लागि अत्यावश्यक भएको छ। अधिवेशन यिनै मुद्दाको वरिपरि केन्द्रित हुन्छ।

अधिवेशनमा महासचिव पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाइको व्यक्तिगत तयारी कस्तो छ ?

महासचिवमा मेरो दावी स्वाभाविक छ। कलाकार सङ्घ कस्तो बनाउने ? यसलाई कुन दिशामा लैजाने ? सङ्घलाई व्यक्तिगत स्वार्थबाट माथि उठाएर सामाजिक हितमा कसरी प्रस्तुत गर्ने ? यी हाम्रा अहम् मुद्दा हुन्। कुनै पनि मुद्दा कार्यान्वयनका लागि बलियो र गतिशील नेतृत्व चाहिन्छ। महासचिवमा मेरो दावी पनि त्यसैका लागि हो।

हामीकहाँ ‘राम्राभन्दा हाम्रा’ छान्ने प्रचलन छ, त्यसले संस्थाको हित गर्दैन। हामीले आफूनजिक को छ ? त्यसका आधारमा होइन, सङ्घका लागि कसले राम्रो काम गर्न सक्छ ? कसले इतिहास र योगदान कस्तो छ ? नेतृत्व क्षमता र निष्ठा कस्तो छ ? त्यसका आधारमा नेतृत्व छान्ने मान्यता स्थापित गर्नुपर्छ। ‘राम्रा’ मान्छेले सङ्घको हितमा काम गर्छन्। तर, ‘हाम्रा’ले नगर्न पनि सक्छन्। कुनै पनि नेतृत्व व्यक्तिगत विषय होइन, यो त संस्थाको भविष्यसँग जोडिन्छ र जोडिनुपर्छ।

म कलाकार सङ्घमा आवद्ध भएको एक दशक बितिसकेको छ। साधारण सदस्य, आजीवन सदस्य, कार्यसमिति सदस्य हुँदै कोषाध्यक्षसम्म आउँदा मैले संस्थाका लागि निष्ठापूर्वक काम गरेको छु। हरेक जिम्मेवारीमा मैले आफ्नो क्षमताअनुसार आफूलाई अग्रपङ्तिमा उभ्याएको छु। कोषाध्यक्षको जिम्मेवारीमा रहँदा मैले खेलेको भूमिका यहाँहरु सबैमा स्पष्ट नै छ। यी सबै आधारमा मैले महासचिवका लागि उम्मेदवारी प्रस्तुत गर्दैछु।

बिमलाले महासचिव दावी गर्नु महत्वकाङ्क्षा हो भन्ने तपाईका प्रतिद्धन्द्धीको मत छ नि, यसमा तपाई के भन्नुहुन्छ ?

चुनावी प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्ने कोशिस त हुन्छ नै, त्यो स्वाभाविक हो। तर, कोशिस र बहस सत्यमा आधारित हुनुपर्छ, धरातलमा उभिएको हुनुपर्छ। मैले कलाकारिता क्षेत्रमा २० वर्ष व्यतित गरेको छु, सङ्घको हितका लागि १० वर्षभन्दा बढी समय समर्पित गरेको छु। सङ्घमा रहँदा मैले गरेका काम र योगदानका आधारमा मेरो दावी स्वाभाविक छ। म महासचिव बन्दा नै संस्थाले थप गति लिन्छ। यही विश्वासका साथ मैले उम्मेदवारी घोषणा गरेको हुँ। यो कुनै महत्वकाङ्क्षा होइन। बरु, सङ्घको हितका लागि आवश्यक निर्णय नै हो।

सबैको चाहना र स्वार्थ सङ्घ र कलाकर्मीको हित नै हो भने तपाईहरु किन मिल्न सक्नुहुन्न, सर्वसम्मतिको प्रयास किन गर्नुभएन ? अध्यक्षको निधनले मुर्झिएको बेला नेतृत्वको हानथानले सङ्घ थप कमजोर बन्छ भन्ने लाग्दैन ?

सर्वसम्मतिको प्रयास भइरहेको छ। त्यसकारण पनि अहिलेसम्म पनि प्यानल घोषणा गरिएको छैन। सकभर सङ्घलाई एउटा सर्वसम्मतिको टिम दिन सकियो भने त्यो राम्रो हुन्छ। हाम्रो प्रयास सर्वसम्मति नै हो। तर, सहमति पनि सङ्घको हितमा हुनुपर्छ, त्यसले सङ्घका सबै सदस्यहरुको भावनाको प्रतिनिधित्व गरेको हुनुपर्छ। तर, सबैको भावनाको प्रतिनिधित्व भएन भने चुनाव त हुन्छ, यो कुनै अस्वाभाविक कुरा होइन।

प्रतिस्पर्धा आफैमा नराम्रो कुरा पनि होइन। तर, के प्रयोजनका लागि ? त्यो मूख्य कुरा हो। चुनाव हुँदैमा सङ्घ कमजोर हुन्छ भन्ने होइन। यसअघि पनि हामीले निर्वाचनबाट नै नेतृत्व छनोट गरेका छौं। निर्वाचन आफैं सङ्घका सदस्यहरुको योगदानको परीक्षा पनि हो। सङ्घका लागि हामीले के दियौं, के भूमिका खेल्यौं, हाम्रा गतिविधिले सङ्घमा के प्रगति भयो ? त्यसको मापन गर्ने विधि पनि हो निर्वाचन। तसर्थ, सकेसम्म सर्वसम्मति र त्यसो हुन नसके खुल्ला निर्वाचन नै सङ्घको हितमा हुन्छ, यसमा अन्यथा मान्नुपर्ने कुनै कारण छैन।

महासचिवमा जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ, निर्वाचन जितेपछि सङ्घका लागि के काम गर्नुहुन्छ, के छ कार्ययोजना ?

मेरो कुनै व्यक्तिगत स्वार्थ छैन। सङ्घमा जति समय काम गर्छु, त्यति समय सङ्घकै लागि खट्छु। त्यहाँबाट मैले लिनु केही छैन। बरु, आफूले सकेको दिन्छु। मैले विगतमा जुन काम गरेको छु, जुन भूमिका खेलेको छु, त्यसका आधारमा मैले महासचिवमा सजिलै जित्छु, हार्नुपर्ने कुनै कारण छैन, सम्भावना पनि छैन।

जहाँसम्म चुनाव जितेपछि के गर्नुहुन्छ भन्ने प्रश्न छ, निर्वाचनपछि मैले आफ्नो कार्यकालको ठोस कार्ययोजना बनाउँछु। सङ्घको आफ्नै भवन, सङ्घका सदस्यहरुको वृत्तिविकास, पुरस्कार, प्रोत्साहन, विभिन्न विधामा तालिम र क्षमता विकास मेरो प्राथमिकताका विषय हुन्। साथै कल्याणकारी कोषलाई थप व्यवस्थित बनाएर कलाकारहरुको सामाजिक सुरक्षाको प्रवन्ध मेरो प्राथमिकता हो। यिनै योजनामा मसिनो गरी तयारी गर्छु र अघि बढ्छु।

नेपाली सिने क्षेत्रको खास समस्या के हो ? समाधानका लागि सङ्घले कस्तो रणनीति अपनाउँछ ? कि यो मुद्दा तपाईहरुको कार्यसूचिभित्र पर्दैन ?

नेपाली सिने क्षेत्रका समस्या हाम्रै कार्यसूचिभित्र पर्छन्, त्यो दायित्वबाट हामी भाग्न मिल्दैन। नेपाली सिने जगतमा आफ्नो मौलिकता र पहिचान स्थापित गर्ने चुनौति हाम्रोसामू छ। हामीले कस्तो फिल्म बनाउने ? कस्तो फिल्मले नेपाली भूगोल बोल्न सक्छ, कस्तो फिल्मले नेपाली मन जित्छ सक्छ, नेपालीको चाहना र भावनालाई सम्बोधन गर्न कस्तो फिल्म बनाउनुपर्छ ? फिल्मले समाजलाई के सन्देश दिने ? यसको राष्ट्रिय दायित्व के ? कलाकारहरुको भविष्यको ग्यारेण्टी कसरी हुन सक्छ ? यस्ता मुद्दामा हाम्रो गम्भिर बहस हुनुपर्छ। राष्ट्रिय स्तरमा खुल्ला फोरमहरुको आयोजना गरेर नीतिगत मुद्दामा राष्ट्रिय सोंच बन्नुपर्छ, यो पहिलो प्राथमिकता हो।

दोस्रो कुरा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा राज्यको अर्थपूर्ण योगदान छैन। फिल्ममा लगानी गरेर के हुन्छ ? भन्ने सोंच राज्यसँग छ। यो बिल्कूल गलत हो। फिल्मले पनि राजनीतिमा, अर्थतन्त्रमा, सामाजिक क्षेत्रमा, शिक्षामा, सामाजिक जागरणका क्षेत्रमा योगदान गर्छ। राज्यले यसलाई हेयको दृष्टिले हेर्नु हुँदैन। कलाकारहरुको वृत्ति विकास पनि राज्यकै दायित्व हो। यस दिशामा पनि सङ्घले बहस गर्न जरुरी छ, ठोस पहल लिन जरुरी छ।

अन्त्यमा, कलाकार सङ्घ र तपाईका शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ? के छ तपाईको सन्देश ?

हामी यतिबेला कलाकार सङ्घको निर्वाचनको सङ्घारमा छौं। अध्यक्षज्यूको निधनले सङ्घलाई अपुरणीय क्षति पुगेको छ। सङ्घको बिरासत र गरीमालाई कायम गर्दै अझै गतिशील र आधुनिक संस्था निर्माण हाम्रो आवश्यकता हो। त्यसका लागि सही नीति र सक्षम नेतृत्व चाहिन्छ। सङ्घका सम्पूर्ण सदस्यहरुमा मेरो अनुरोध छ – तपाईहरु सङ्घको भविष्यलाई केन्द्रमा राखेर सकारात्मक बहस गर्नुस्, रचनात्मक आलोचना गर्नुस्।

अधिवेशन हाम्रा लागि अवसर र चुनौति दुवै हो। राम्रो नीति बनाउन सके, असल र सक्षम नेतृत्व छान्नसके हामी सफलतातिर, सम्भावनातिर जान्छौं। त्यस गर्न नसके सङ्घ थप कमजोर हुन्छ। तसर्थ, हाम्रा होइन, राम्रा पदाधिकारी छानौं, सङ्घको गरिमालाई अझै सशक्त बनाउँ, यही अनुरोध गर्न चाहन्छु।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्