समाजका लागि चुनौति बन्दै सामाजिक सञ्जाल

facebook
लाेकपाटी न्यूज

काठमाडौं,१५ चैत।  सामाजिक सञ्जालले सम्बन्धलाई जोडेको मात्र होइन, तोडेको पनि छ। सामाजिक सञ्जालको दुरुपयोग गर्दा निम्तिएका घटनाले अब सतर्कता अपनाउन ढिलो गर्न नहुने सन्देश दिएको छ।

पछिल्लो समय सामाजिक सञ्जाल समाजका लागि नै चुनौती बन्दै गएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्या दैनिक बढ्दो छ। मानिसहरु घन्टौं सामाजिक सञ्जालमा झुम्मिने गरेका छन्। फेसबुक, ट्वीटर, इन्टाग्राम धेरैका लागि आदत बनिसकेका छन्।

यी माध्यम आफैंमा खराब छैनन्। किनभने कतिपयले यसैको सहारामा सामाजिक सेवाका कामहरु पनि गरिरहेका छन्। कतिले जीवनदान पाएका छन्। कसैको भविष्य उज्ज्वल भएको छ।

तर, अर्काथरि छन, जसले सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरेर आपराधिक गतिविधितिर उन्मुख भएका छन्। सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुले सामाजलाई आतंकित तुल्याएका छन्। यसकै कारण केहीले आत्महत्याको बाटो रोजेका छन् भने कोही समाजबाट पलायन भएका छन्।

यो आर्थिक वर्षको फागुन मसान्तसम्म सामाजिक सञ्जालसँग सम्बन्धित १२ सय १९ उजुरी परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता केदार ढकालकालले बताए। जुन गत वर्षको भन्दा २५ प्रतिशतले बढेको छ। पीडितहरुमध्ये २० वर्षदेखि ६० वर्षसम्मका व्यक्तिहरु रहेका छन्।

धेरै उजुरी फेसबुकबाट पीडितहरुको छ। सामाजिक सञ्जालको दुस्प्रभाव दाम्पत्य सम्बन्धमा पनि पर्दै गएको छ।  पत्याउन गाह्रो पर्छ, अहिले सम्बन्धबिच्छेदको एक कारणमध्ये सामाजिक सञ्जाल अग्रपंक्तिमा देखिन थालेको छ।

किशोर–किशोरीहरु सामाजिक सञ्जालमा हुने अपराधको शिकार बन्ने खतरा बढी रहेकाले सन्तानहरुप्रतिको निगरानीको आवश्यकता बढेको प्रवक्ता ढकाल बताउँछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्