पुनः बाहिरियो प्रश्नपत्र, सामाजिक विषयको परीक्षा स्थगित

see student
लाेकपाटी न्यूज

जनकपुर, १५ चैत । प्रदेश २ मा मंगलबार परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएको छ । प्रश्नपत्र बाहिरिएसँगै सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित गरिएको हो ।

प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको आजको  परीक्षा स्थगन गरिएको जानकारी दिए । ‘परीक्षाअगावै अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ,’ शर्माले भने, ‘त्यसैले हामीले नियमिततर्फको आजको परीक्षा स्थगित गरेका छौं ।’ स्थगित परीक्षा अब चैत २३ गते हुने उनले बताए ।

उनले नियमितर्फको परीक्षा स्थगित भए पनि एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक र ग्रेड वृद्धिका परीक्षा भने प्रभावित नभएको बताए ।

प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो । सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए । तर, प्रश्नपत्र कहाँबाट, कसले लिग गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।

यसअघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । त्यसबारे छानबिन नहुँदै पुनः अर्को विषयको प्रश्नपत्र पनि आउट भएको छ ।

प्रदेश २ का शिक्षा निर्देशक शर्मा प्रश्नपत्र सार्वजनिक गरेर विद्यार्थीलाई मानसिक तनाव दिने काम भएको बताउँछन् । एकपछि अर्को लापरबाहीपूर्ण घटना भएकाले यसबारे गम्भीर रुपमा छानबिन हुने उनले बताए ।

‘विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै एकपछि अर्को प्रश्नपत्र बाहिरिएको छ’, शर्माले भने, ‘यसबारे गम्भीर छानबिन गरेर हामी सत्य–तथ्य बाहिर ल्याउँछौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्