काठमाडौं, १५ चैत। जम्मू कश्मीरको बडगाममा शुक्रबार बिहान भएको भिडन्तमा दुई जना आतंककारीको ज्यान गएको छ। उक्त भिडन्तमा सुरक्षाकर्मीले दुई जना आतंककारीलाई मारेका हुन्।
बिहीबार पनि चार जना आतंककारीलाई सुरक्षाकर्मीले मारेको थियो। दिल्ली पुलिसका अनुसार चार जना सुरक्षाकर्मी घाइते भएका छन्। भारतीय सुरक्षाकर्मीले कार्वाहीलाई तीव्रता दिने क्रममा गत मार्च २१ मा आतंकवादी समूह जैश–ए–मोहम्मदका सज्जाद खानलाई लालिकिलाको इलाकाबाट गिरफ्तार गरेको थियो।
गत फेबु्रवरी १४ तारिखमा पुलवामा हमलापछि खान फरार रहेका थिए। खान भारतीय सुरक्षाकर्मी सीआरपीएफमाथि हमला गर्ने मास्टरमाइन्ड मुदस्सिर खानका खास मानिस रहेको दावी गरिएको छ। पुलवामा आक्रमणमा ४७ सुरक्षाकर्मीको ज्यान गएको थियो।
बडगाममा अहिले पनि भिडन्त जारी रहेको सुरक्षाकर्मीलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले बताएका छन्। बडगामको सुतसू गाउँमा अझै पनि केही आतंकवादीहरु लुकिरहेको बताइएको छ।