माथिल्लो त्रिशूली थ्री ‘ए’बाँधस्थलको सफल परीक्षण

Trisuli
लाेकपाटी न्यूज

नुवाकोट, १५ चैत।  रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ।

आगामी वैशाख १७ गतेदेखि विद्युत उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए। बाँधस्थलका तीन ढोकाबाट पानी थुनेर डिसेन्टर अर्थात् पानी जमाउने पोखरीमा पठाउने कार्य बिहीबार सफल भएको हो।विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण उक्त आयोजनामा सबैभन्दा बढी क्षति पुगेको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।

आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसँगै तोकिएको समयमा विद्युत उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले बताए। “भूकम्पले क्षति पु¥याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएकाले बाँधस्थलको परीक्षण गर्नु चुनौती थियो, तीन ढोकामार्फत थुनिएको पानीले सहजै डिसेन्टरमा प्र्रवेश गरेको छ, यो सुखद् पक्ष हो”, उनले भने।

बाँधस्थलको परीक्षणअन्तर्गत बिहीबार थुनिएको बाँध करीब ४८ घण्टासम्म परीक्षण गरिने आयोजनाको निर्माण गरिरहेको चाइना गेजुवा गु्रप अफ कम्पनी ( सिजिजिसी) ले जनाएको छ । आयोजनाको सिभिल (भौतिक) संरचना निर्माण पश्चात करीब ४५ दिनको परीक्षण अवधिको यस समयमा दोस्रो चरणअन्तर्गत अर्को सातादेखि डिसेन्टर हुँदै सुरुङमार्गको परीक्षण गर्ने योजना छ ।

असारसम्ममा निर्माण सम्पन्न गर्ने योजनाको साथ तीव्रगतिमा भइरहेको कार्यअन्तर्गत आयोजनाको समग्र काम हाल ९० प्रतिशत भन्दा बढी पूरा भएको छ। भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गमा पु¥याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रूपमा पहिरो रोकथामसम्बन्धी कार्यका लागि भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ। पहिरो रोकथामको कार्य सेनाले अन्तिम चरणमा पु¥याएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्