नीरज पिठाकोटे
वीरगन्ज, १५ चैत्र । प्रदेश नम्बर २ मा लगातार परिक्षाको प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीहरुको प्रदर्शनका कारण प्रदेश २ भरको अवस्था तनावग्रस्त बनेको छ ।
बिहिबार विज्ञान विषयको प्रश्न पत्र बाहिरिएपछि परिक्षा नियन्त्रण कार्यालयले प्रदेश नम्बर २ को परिक्षा रद्द गर्ने निर्णय गरेपछि बिहिबार साँझ प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु शुक्रबार हुने सामाजिक शिक्षा विषयको परिक्षाको प्रश्नपत्र पनि बाहिरिएको भन्दै परिक्षा नियन्त्रण कार्यालयले परिक्षा रद्द भएको घोषणा गरेको थियो । परिक्षा रद्द गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले प्रदेश नम्बर २ भर प्रदर्शन गरेका छन् । बिहानै परिक्षा दिनका लागि परिक्षाकेन्द्रमा पुगेका विद्यार्थीहरु परिक्षा नै रद्द भएको खबर पाएपछि आक्रोशित हुदै वीरगन्जको घण्टाघरमा भेला भई टायर बालेर प्रदर्शन गरेका छन् ।
आन्दोलित भएका विद्यार्थीहरुले घण्टाघरमा रहेको ट्राफिक आईल्याण्ड, डिभाईडर लगायतका होर्डिङ वोर्डहरु समेत तोडफोड गरेका छन् । विद्यार्थीहरुले बिहानै वीरगन्जको विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । तोडफोडमा संलग्न केही विद्यार्थीहरु पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।
पक्राउ परेका विद्यार्थीहरुको संख्या र नाम भने प्रहरी उपरीक्षक ढकालले सार्वजनिक गरेनन् । विद्यार्थीहरु तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण गर्नका लागि प्रहरीले केही राउण्ड अश्रुग्याँस पनि फायर गरेको छ । त्यस्तै दमकलबाट पानीको फोहोराले विद्यार्थीहरुको भीड तितर बितर बनाउन खोजेपछि विद्यार्थीहरु थप आक्रोशित बन्दै वीरगन्ज महानगरपालिकाको दमकलमा समेत तोडफोड गरेका छन् ।
त्यस्तै बाराको कलैया उपमहानगरपालिकाको भरतचौकमा पनि विद्याथीहरुले प्रदर्शन गरेका छन् । रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा सप्तरी लगायत प्रदेश नम्बर २ का जिल्लाहरुमा परिक्षा दिन नपाएका विद्यार्थीहरु आक्रोशित हुदै प्रदर्शन र तोडफोडमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा समेत ढुंगा प्रहार गरेर तोडफोडको प्रयास गरेका थिए ।