नेपाल बारकाे निर्वाचन : प्रगतिशील र लोकतान्त्रिक मध्ये काे शक्तिशाली ?

Nepal bar election
लाेकपाटी न्यूज

काठमाडौं, १५ चैत । नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएनको चैत १६ गते शनिबार हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको समूह ‘प्रगतिशील, पेशागत तथा समावेशी समूह’ र नेपाली काङ्ग्रेस निकटका कानून व्यवसायी समूह ‘बृहत् लोकतान्त्रिक समूह’ बीच चर्को प्रतिस्पर्धा देखिएको हो ।

प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई आफ्नो समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको समूहबाट मत पाउन मुस्किल छ भने लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार अधिवक्ता सुनील पोखरेललाई आफ्नै समूहका वरिष्ठ अधिवक्ताको मत पाउन मुस्किल छ ।

दुवै समूहमा अध्यक्षका उम्मेदवारलाई टिकट लिने बेलामा भएको विवादका कारण दुवै समूहलाई आ आफ्नै समूहबाट चुनौती थपिएको हो । लोकतान्त्रिक समूहमा वरिष्ठ अधिवक्ताबाट अध्यक्षका लागि टिकट नदिएकोप्रति असन्तुष्टि छ । चुनावीसभामासमेत वरिष्ठ अधिवक्ता देखिएका छैनन् । प्रगतिशील समूहमा बारको अघिल्लो निर्वाचनको सहमतिअनुसार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई टिकट नदिएकोप्रति असन्तुष्टि छ ।

अध्यक्षका उम्मेदवार दुवैलाई आ आफ्नो समूहको मत धरापमा परेपछि न्युट्रल रहेका मत जुन समूहले तान्न सक्छ , त्यही समूहले निर्वाचन जित्ने सम्भावना प्रवल रहेको छ । यी दुवै बलिया उम्मेदवार भएको हुँदा दुई समूहबीच चुनावी प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ  । बारमा देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्नेछन् । दुवै समूहले आ–आफूले चुनाव जित्ने उद्घोष गर्दै चुनावी मैदानमा होमिएका छन् ।

प्रगतिशील समूहलाई मधेश केन्द्रित कानून व्यवसायी सङ्गठनको सहयोग मिलेको छ भने लोकतान्त्रिक समूहलाई राप्रपा निकट कानून व्यवसायीको सहयोग छ । मतदाताको हिसाबकिताब दुवैले गरिरहेका छन् । दुवै बराबरको हाराहारीका शक्तिशाली देखिएपछि न्युट्रल मत तान्नेको जीत सुनिश्चित हुने देखिएको छ ।

चुनावमा दुवै समूहले बारलाई निष्ठा र प्राज्ञिक बार बनाउने एजेण्डा अघि सारेका छन् । प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता श्रेष्ठले बारलाई व्यावसायिक निष्ठा र प्राज्ञिक बार बनाइका न्यायलयमा हुने अनियमितता र भ्रष्टाचारलाई न्यूनीकरण गर्नेमा जोड दिएका छन् । ‘अहिले न्यायलयमा जुन खालको अनियमितता छ, त्यसलाई रोकी सुशासन, पारदर्शी बार बनाउन मेरो समूहको उम्मदेवारी हो’, उनले भने, ‘स्वतन्त्र र निष्पक्ष बार, न्यायपालिका प्रमुख प्रतिपक्षको भूमिका खेल्न मेरो जीत सुनिश्चित छ ।’

लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार तथा बारका पूर्वमहासचिव पोखरेललाई पनि आफ्नो समूहले निर्वाचन जित्नेमा ढुक्क छ । ‘अहिलेसम्म बार नेतृत्व केन्द्रित भयो, नीति केन्द्रित हुन सकेन’, उनले भने, ‘अबको बार नेतृत्व केन्द्रित नभई नीति केन्द्रित हुन्छ, त्यो लोकतान्त्रिक समूहको जीतबाट सम्भव छ ।’ दुवै समूह आफूले निर्वाचन जिप्नेमा ढुक्क छन् । लोकतान्त्रिक वा प्रगतिशील कुन समूहले जीत हासिल गर्छ भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान गरेपछिको परिणामले छर्लङ देखाउने छ ।