‘विदेशीसँग हात थापेर समाजवाद आउँदैन’ : राजेन्द्र श्रेष्ठ

Rajendra shrestha
लाेकपाटी न्यूज
0 Shares

बनेपा, १७ चैत । सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले विदेशीसँग हात थापेर समाजवाद नआउने बताएका छन्।

उनले आफूलाई समाजवादी भन्ने नेपाल कम्युनिष्ट पार्टी र नेपाली काङ्ग्रेसले नेपाललाई मागेर खाने देश बनाएको आरोप लगाएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ४, १३ र १४ को संयुक्त वडा अधिवेशनको उद्घाटनका क्रममा बोल्दै उनले भने, ‘विदेशी पूँजीपतिहरूसँग हात थापेर समाजवाद आउँदैन ।’

नेता श्रेष्ठले यस आर्थिक वर्षको अनुमानित बजेटमा ओली सरकारले देशको राजश्व ८३१ अर्ब र साधारण खर्च ८४५ अर्ब प्रस्ताव गरेको उदाहरण दिँदै देशको राजश्वले साधारण खर्च पनि धान्न नसकेको, देशको पहिलाको बचत पनि खर्च गर्न थालेको र आर्थिक रूपले सक्रिय युवा शक्तिलाई विदेश जान बाध्य पारेको बताए ।

नेपाली समाजलाई सबैलाई साथ लिएर चल्ने सङ्घीय समाजमा रुपान्तरण गराएर मात्र देशमा सबैको प्रतिभाको उपयोग हुने भन्दै श्रेष्ठले भने, ‘जबसम्म राज्यमा समानुपातिक समावेशिता हुँदैन, तबसम्म देश गरिबीबाट मुक्त हुँदैन र देश समृद्ध भए पनि समतामुलक समाज बन्दैन ।’

उनले पार्टी निर्माणमा विचारको महत्त्वबारे बोल्दै ‘विचार सफ्टवेयर’ र ‘संगठन हार्डवेयर’ भएको उदाहरण दिए। सही विचार र सिद्धान्तले मात्र संगठनलाई ठीक ठाउँमा पुर्याउने उनको भनाइ छ ।

जिल्ला अध्यक्ष सिद्धिबहादुर जोशीको अध्यक्षतामा भएको उक्त अधिवेशनले बनेपा नगरपालिका वडा नम्बर ४ मा दिव्यश्वरी श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय, वडा नम्बर १३ मा ज्ञानकाजी डंगोलको अध्यक्षतामा १३ सदस्यीय र वडा नम्बर १४ मा कमल तामाङको अध्यक्षतामा १३ सदस्यीय वडा समिति निर्वाचित गरेको छ ।

नव निर्वाचित समितिलाई पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश उपाध्यक्ष विद्युत बज्राचार्यले शपथ ग्रहण गराउनुका साथै सक्रियतापूर्वक संगठन विस्तार गर्न आह्वान गरे। त्यसरी नै पार्टी केन्द्रीय सदस्य तथा ताम्सालिङ समितिका अध्यक्ष कृष्णकुमार घलानले अरु पार्टीको भन्दा आफ्नो पार्टीको एजेण्डा उत्कृष्ट भएको बताए।

रहरसिंह तामाङले सञ्चालन र विजया मानन्धरले स्वागत गरेको उक्त कार्यक्रममा जिल्ला उपाध्यक्ष वीरवहादुर तामाङ, उपसचिव रकम लामा, ताम्सालिङ समिति सदस्य शनि लामा, वुद्धिजीवी जगत श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा स्थानीय बुद्धिजीवी लव थापा पार्टीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्