बलेटक्सार रिङ्गरोड निर्माणका लागि ५ करोड विनियोजन

pradip
लाेकपाटी न्यूज

गुल्मी, १७ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको विशेष पहल र सक्रियतामा गुल्मीमा बन्ने रिङ्गरोड निर्माणका लागि रु. पाँच करोड विनियोजन भएको छ । गृहजिल्लामा चुनावको बेलामा गरिएका वाचा पुरा गर्ने क्रममा मन्त्री ज्ञवालीले बलेटक्सारमा बन्ने रिङ्गरोड निर्माणका लागि सो रकम विनियोजन गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णयअनुसार गुल्मी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बलेटक्सार रिङ्गरोड निर्माणका लागि रु. पाँच करोड विनियोजन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । चैत १३ गतेको निर्णयअनुसार प्रचलित कानून र स्वीकृत मापदण्डअनुसार खर्च व्यवस्थापन गर्ने गरी मन्त्रिपरिषद्को मिति माघ २५ गतेको निर्णयअनुसार कार्यान्वयन गर्न प्रदेश–५ अन्तर्गत बलेटक्सार रिङ्गरोड लागि ५ करोड निकासा भएको अर्थ मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

यसअघि पनि मन्त्री ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्रमा गरिएको चुनावी वाचाअनुसार खरको छाना विस्थापित गर्न र खानेपानी आयोजनाका लागि रकम विनियोजन गर्न लगाएका थिए।