अन्याेलमा राजपाको महाधिवेशन

rajapa-morcha
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नयाँ वर्षको बैशाख ७, ८ र ९ गते राष्ट्रिय एकता महाधिवेशन गर्ने मिति तय गरेको छ । तर, बारा र पर्सामा आएको आँधीका कारण त्यसको तयारी पूरा नभएको कारण देखाउँदै तोकिएको समयमा महाधिवेशन नहुने राजपाले बताएको छ ।

वि.स. २०७४ बैशाख ७ गते विभिन्न ६ वटा दल मिलेर एकीकरण भएको राजपा नेपालले एक वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । योसँगै पहिलो महाधिवेशन तोकिएको समयमा हुने वा नहुने भन्ने अन्योल भएको छ।

पार्टी अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले अहिलेसम्म पनि पार्टी नेतृत्व तोकिएकै मितिमा महाधिवेशन गर्ने तयारीमा रहेको दाबी गर्दै कुनै प्राविधिक समस्या आइहालेको खण्डमा भने पार्टीको बैठक बसेर नयाँ मिति तय गरिने बताए । उनले भने, ‘अहिलेसम्म बैशाखमै महाधिवेशन गर्ने गरी तयारी भइरहेको छ, तयारी पुगेन भने त्यसको बारेमा पार्टीले बैठक बसेर तय गर्नेछ। अहिले जिल्लाहरुमा पनि महाधिवेशनका बारेमा छलफल भइरहेको छ ।’

उनले थपे, ‘बारा–पर्सामा आएको विनाशकारी हावाहुरीले पनि महाधिवेशनलाई प्रभावित गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरु त्यहाँ पीडितलाई उद्धार, राहत तथा अन्य व्यवस्थापनमा लागेको कारणले तयारीमा पर्याप्त ध्यान दिन पाइएको छैन । म स्वयम् पनि अहिले यही छु ।’

उनले यस्तो दाबी गरेपनि पार्टीले आँधी अघि पनि जुन तहमा तयारी गर्नुपर्ने हो त्यो तहमा तयारी भएको थिएन । राजपा नेपाल अध्यक्षमण्डलको बैठकले चैत १५ गतेसम्म साधारण सदस्यता लिनका लागि समय तोकेको थियो । साधारण सदस्यता लिने मिति सकिए पनि त्यसको प्रतिवेदन केन्द्रमा आइपुगेको छैन । केन्द्रले स्वीकृत नगरेसम्म सदस्यहरुले आधिकारिकता पाउने छैनन् ।

राजनीतिक समितिको बैठक
यता राजपाका दोस्रो तहका नेताहरुले तोकिएको समयमा महाधिवेशन सम्पन्न गराउन नेतृत्वलाई दवाव दिएका छन् । पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला लगायतका नेताहरु अध्यक्षमण्डललाई भेटेर राजनीतिक समितिको बैठक बोलाउनका लागि माग गरेका छन् । उनीहरुले चैत ४ गते तत्कालीन अध्यक्षमण्डलका संयोजक रहेका यादवसहित अध्यक्षमण्डलका अन्य सदस्यहरुलाई भेटेर सो माग गरेका हुन् ।

उनीहरुले जुन रुपमा पार्टीको काम अगाडि बढीरहेको छ, त्यसको आधारमा तोकिएको समयमा चुनाव हुने कुरामा आफूहरुलाई शंका लागेको धारणा राखेका थिए । महाधिवेशन गराए पनि लोकतान्त्रिक विधिबाट हुनेमा उनीहरुले शंका व्यक्त गरेका थिए ।

लोकतान्त्रिक विधिबाट महाधिवेशन नभए त्यो पार्टीको हितमा नहुने भन्दै उनीहरुले राजनीतिक समितिको बैठकमा छलफल गरी अगाडि बढ्न ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा महेन्द्र राय यादवले राजनीतिक समितिको बैठक नयाँ अध्यक्ष मण्डलको संयोजकले बोलाउने आश्वासन दिएका थिए । यस विषयमा उपाध्यक्ष लालसँग बुझ्दा उनले आफूहरुले राजनीतिक समितिको बैठक बोलाउन माग गरेको बताए ।

बैशाख ७, ८ र ९ गतेका लागि तोकिएको महाधिवेशन हुने वा नहुने भन्नेमा आफूहरुलाई शंका लागेको भन्दै लालले राजनीतिक समितिको बैठक बसाएर त्यसबारे निर्णय लिइनुपर्नेमा जोड दिए । तर, अहिलेसम्म नेतृत्वबाट कुनै पहल हुन नसकेको भन्दै उनले अध्यक्षमण्डलबाटै काम चलाउ निर्णय गरिरहनु गलत भएको बताए ।

आवश्यक तयारी छैन
महाधिवेशन हुन दुई साता बाँकी रहेपनि हालसम्म कुनै तयारी देखिएको छैन । तर नेताहरुले तयारी बिनै तयारी भइरहेको प्रतिक्रिया दिँदै आएका छन् ।

एकताको एक वर्षभित्र महाधिवेशन गराउन नसकेपछि राजपाले विधान संशोधन गरी दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने उल्लेख गर्यो । सोहीअनुसार बैशाखमा महाधिवेशन गर्ने मिति तय गर्यो तर त्यो मितिमा पनि महाधिवेशन नहुने देखिएको पार्टीभित्रै गुनासो बढ्न थालेको हो ।

पार्टी स्रोतका अनुसार महाधिवेशनको दुई हप्ता बाँकी रहँदासम्म तल्लो कमिटीमा महाधिवेशन सम्पन्न हुन सकेको छैन । महाधिवेशनका लागि गाउँ, नगर, जिल्ला र प्रदेश समितिको अधिवेशन हुनुपर्छ तर हालसम्म कसैको अधिवेशन नभएको हो । यता, पार्टीमा पनि महाधिवेशन सम्बन्धि कुनै गतिविधि भइरहेको छैन । त्यसैले बैशाखमा महाधिवेशन हुने सम्भावना एकदमै न्यून रहेको राजपा नेपालका एक महासचिवले बताए ।

उनले भने, ‘तोकिएको समयमा महाधिवेशन हुँदैन भन्ने हिम्मत अहिले कसैमा छैन, महाधिवेशन किन हुन सकेन, किन गराउन सकिएन त्यसको जवाफ शीर्ष नेता कसैसँग छैन त्यही भएर महाधिवेशन हुनसक्दैन भनेर कुनै नेताले आधिकारिक रुपमा भन्नुहुन्न ।’

ती महासचिवले भनेजस्तै अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले पनि तोकिएको मितिमा महाधिवेशन गराउन पार्टी प्रतिबद्ध रहेको बताए । तर महाधिवेशन हुने स्पष्ट आधार भने उनीसँग पनि पाइएन ।

विधान संशोधन गर्नुपर्ने अवस्था
पार्टीले आगामी असार मसान्तसम्म पनि महाधिवेशन गराउन नसके पुनः विधान संशोधन गर्नुपर्ने अवस्था आउने बताइएको छ । पार्टी विधानको धारा ३१ को उपधारा १० अनुसार दुई वर्षभित्र महधिवेशन गरिसक्नुपर्ने उल्लेख छ । राजपाले २०७४ असार ३० गते निर्वाचन आयोगबाट पार्टी एकीकरणको मान्यता प्राप्त गरेको थियो । यसैबीच महाधिवेशनबारे निर्णय लिन सोमबार अध्यक्षमण्डलको बैठक बस्न लागेको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्