हेटौंडा, १८ चैत। प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल छिमेकी प्रदेश–२ को बारामा हावाहुरीका कारण घाइते बनेकाहरुको उपचार गर्नका लागि नौ जना स्वास्थ्यकर्मीको टोली लिएर बारा पुगेका छन् । मन्त्री दुलालले बाराको कलैया अस्पतालमा प्रदेशका स्वास्थ्यकर्मीलाई लिएर गएका हुन् ।
हेटौंडाबाट गएका स्वास्थ्यकर्मीले त्यहाँ उपचार सेवा दिइरहेका छन् । हिँजो साँझ आएको हावाहुरीमा परी घाइते भएकालाई भेटेर मन्त्री दुलालले शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि सहयोग गरिने बताए । हुरीका कारण भत्किएका घर, गोठ, विद्यालय, सार्वजनिक संरचनाको स्थलगत अवलोकनपछि मन्त्री दुलाल कलैया अस्पताल पुगेका थिए ।
उक्त बस्तीमा हावाहुरीमा परी १५ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएको प्रदेश नम्बर ३ मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । बस्तीमा एकै घरका चार जनाको मृत्यु भएको पाइएको उनले बताए । ‘खानेकुरा र अन्नपात माटोमा मिसिएका देखिएका छन् । उनीहरुलाई तत्काल पानी र खानेकुरा आवश्यक देखिन्छ। घर भत्किएपछि स्थानीयको रुवाबासी छ ।’ स्वकीय सचिव पौडेलले भने ।
रातभर खुला आकाशमा बिताएका उनीहरु के खाउँ र कहाँ जाऔं भन्ने स्थितिमा छन् । जताततै त्राही छ । आफ्नो परिवार सम्हाल्नै ठिक्क छ सबैलाई । ‘बाँसको टाटीमा गोबर र माटोले लिपेको घरहरु भत्किएका छन् ।
सिमेन्ट लगाइएका ईंटाको गाह्रो भएका घर पनि बाँकी छैनन्,’ उनले भने ।
स्थानीयले ३ हजार घरमध्ये ८० प्रतिशत घरमा क्षति पुगेको बताएका छन् । हावाहुरीले बाराको भरवलियाको एक घरसमेत सग्लो छैन । तीव्रगतिमा आएको हुरीका कारण ढलेका बिजुलीका पोल, रुख र घरका पर्खालमा च्यापिएर घरभित्र बसेकाहरुको मृत्यु भएको थियो । हुरीबतासका कारण धेरै जना घाइते भएको अनुमान छ । मृत्यु हुने र घाइतेको संख्या बढ्नसक्ने अनुमान छ । राति करिब ९ बजेदेखि आधा घण्टा असिनापानीसँगै हुरीबतास आएको थियो ।
बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा हावाहुरीले बढी क्षति पुगेको जनाइएको छ ।