सरकारी कार्यालयमध्ये नेपाल प्रहरी सर्वोत्कृष्ट, आइजीपी सम्मानित

Sarbendra-khanal
लाेकपाटी न्यूज

काठमाडौं, १९ चैत। महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३\०७४ आर्थिक वर्षको बेरुजु रकम रु. ५ खर्ब आठ करोड रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतममा झार्ने अभियान थालेको छ।

२०७३\०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजुमध्ये गृह मन्त्रालय अन्तर्गत ८८४ कार्यालयमध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो। त्यसमा नेपाल प्रहरी अन्तर्गत ४४१ कार्यालयमध्ये १२९ कार्यालयहरुमा रु. ४९ करोड ५५ लाख ५३ हजार बेरुजु देखिएको थियो।

गृह मन्त्रालय अन्तरगतको रु. २ अर्ब ३१ करोड ६६ लाख आठ हजार यो बेरुजु रकम तात्कालीन गृह सचिव नारायण गोपाल मलेगो २०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते र अर्का तात्कालीन गृह सचिव लोकदर्शन रेग्मी २०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म रहँदा बेरुजु रकम रु २ अर्ब ५३ करोड ६८ लाख ९७ रहेको थियो।

हालका मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको बेरुजु फछ्र्यौट तथा अनुगमन समितिले सरकारी बेरुजु फछ्र्यौट सम्बन्धी काम गरिरहेको छ स्रोतले जनाएको छ। गृह मन्त्रालय स्रोतका अनुसार, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा रहेको नेपाल प्रहरी सम्पूर्ण सरकारी निकायमध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्वाेत्कृष्ट अंक प्राप्त गरेको छ।

बेरुजु फछ्र्यौटमा सर्बोत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल, प्रबन्ध तथा मानव स्रोत विभाकका प्रमुख तथा एआईजीपी ठुले राई, एसएसपी दीपक थापा, डीएसपी मदनकुमार थापा, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाललाई गृह मन्त्रालयले पुरस्कृत गर्ने निर्णय गरेको गृह स्रोतले बताएको छ।

गृह स्रोतका अनुसार, ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल आइजीपी खनाललाई आठ हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिदैछ भने अन्य चारजना एसएसपी, थापा, डीएसपी थापा, इन्स्पेक्टर तिमिल्सिना र प्रहरी जवान खनाललाई ६/६ हजार नगद तथा प्रशंसा पत्रद्वारा गृहसम्मान गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ।

साँधु साप्ताहिकबाट साभार।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्