गाउँपालिका अध्यक्षमाथि हातपात गर्ने चार पक्राउ

Arrest
लाेकपाटी न्यूज

बैतडी, २० चैत । बैतडी । गाउँपालिकाका अध्यक्षमाथि हातपात गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पञ्चेश्वर-६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् । उनीहरुलाई गए राति हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले जानकारी दिए ।

मंगलबार रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किदै गर्दा पाँच÷छ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताएका थिए । सडकको विषयमा छलफल गरेर वडा नं ४ का अध्यक्षसँगै फर्किरहेको बेला मङ्गलबार अपराह्न ४ः३० बजेतिर एक्कासि अध्यक्ष चन्दमाथि हातपात भएको बताइएको छ । सडकको विषयमा विवाद हुँदा अध्यक्ष चन्दमाथि हातपात भएको बताइएको छ । अध्यक्ष चन्दले भने सडकका विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।

अध्यक्षसँगै रहेका वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममाबीच जङ्गलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र घटनाका विषयमा आज दुवै पक्षबीच छलफल हुने बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । जनप्रतिनिधिमाथि नै आक्रमण हुन थालेपछि यहाँका जनप्रतिनिधिले असुरक्षित भएको महसुस भएको बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्