झापा, २० चैत । इलाका प्रहरी कार्यालय काकँडभिट्टाको नवनिर्मित कार्यालय भवनको मंगलबार शिलान्यास भएको छ। एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्कीले झापाको मेचीनगर–६ स्थित रहेको सो भवनको एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन्।
भवन शिलान्यास कार्यक्रममा कानून मन्त्री कार्कीले नेपाल प्रहरीलाई प्रविधिमैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउने कार्यमा प्रदेश सरकार लागि परेको चर्चा गर्दै आन्तरिक सुरक्षाको अग्रपंक्तिमा रहेको नेपाल प्रहरीलाई भौतिक, मानसिक र शारीरिक रुपमा सम्पन्न बनाए मात्र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सकिने उल्लेख गरे। झापा प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले प्रदेश सरकार प्रयासरत रहेको उनले बताए।
सो अवसरमा १ नम्बर प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरीक्षक केदार रिजालले सीमा नाकामा तैनाथ नेपाल प्रहरीले देशको सुरक्षाको प्रतिनिधित्व गरिरहेको अवस्थामा सीमित श्रोत साधन तथा भौतिक पूर्वाधारको अभाव देखिएको बताउँदै नयाँ निर्माण हुने भवनले काम गर्न थप हौसला प्राप्त गरेको उल्लेख गरे। १ नम्बर प्रदेश सरकारको बिनोयोजित बजेटबाट कुल ३ करोड ६२ लाख ४० हजार ४ सय ५ रुपैयाँ लागतमा आधुनिक स्तरको सुबिधा सम्पन्न भवन निर्मित गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
कार्यक्रममा प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी र राधा थापा, सहायक प्रमूख जिल्ला अधिकारीद्वय कृष्णचन्द्र पौडेल र माधवप्रसाद पोखरेल, मेचीनगर नगरपालिकाका प्रमूख बिमल आचार्य, उपमेयर मिना उप्रेती, नयाँ श्रीनाथ गणका गणपति मुकाहाम याक्थुम्बा, सशस्त्र प्रहरी वल २ नं गणका गणपति रेशमकुमार थक्सु, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सुशान्त बराल लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।