‘प्रदेश सरकार पीडितको साथमा छ’ : मुख्यमन्त्री राउत

Lalbabu-Raut
लाेकपाटी न्यूज

काठमाडौं, २० चैत । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन्। उनले भने, ‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यी समितिले पनि त्यही कुरा सिफारिस गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहने विश्वास दिलाए । उनले भने, ‘प्रदेश सरकार पीडितहरुको दुःखमा साथमै छ । हामी घरदैलो गरिरहेका छौं । उहाँहरुको पीडा कम गर्न लागिरहेका छौं।’ प्रदेश सरकार पीडितहरुको दुःख कम गर्नको लागि जिम्मेवार ढंगले लागिरहेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले घटना घटेकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमूख, प्रदेश सरकार घटनास्थल पुगेको उल्लेख गर्दै भने, ‘विहान ७ बजे नै प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसेर उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको थियो । र, घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।’ घाइतेहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने समेत उनले बताए।

मुख्यमन्त्री राउतले थपे, ‘आजमात्रैपनि मेरो नेश्नल मेडिकल कलेजका सञ्चालकसँग कुराकानी भएको थियो, उपचारमा ३५ लाख लागेपनि त्यो दिन प्रदेश सरकार तयार छ भनेर मैले भनेको छु, पीडितलाई दुःख हुनुहुँदैन । यो कुरामा हामी धेरै सचेत छौं ।’ राउतले घटनास्थलको दृश्य दर्दनाक रहेको बताउँदै त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाउने बताए ।

उनले पीडितहरुको लागि राहत कोष स्थापना भैसकेको र कोषमा देश तथा विदेशबाट ठूलो सहयोग भैरहेको पनि जनाए । पीडित हुनेमा अधिकांश गरिब, मुस्लिम तथा दलितहरु रहेका भन्दै उनले भने, ‘आर्थिक रुपमा बढी विपन्न भएकाहरु नै प्रभावित भएका छन् । उहाँहरुको लागि सामूहिक घर बनाउने हाम्रो योजना छ । प्रहरी तथा सेनासँग आधिकारिक डाटा लिएर हामी सोहीअनुसार सहयोग गर्छौं ।’