तानाशाह निरो, ‘जसले रोम जल्दा बाँसुरी बजाएर आनन्द लिन्थे’

king Nero Rom
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। राज्यसत्ता वर्गीय हुन्छ। वर्गको अस्तित्व रहुञ्जेल राज्य र सत्ताको चरित्र पनि वर्गीय नै हुन्छ। तर, वर्गीय सत्ताभित्र पनि शासकहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ। कतिपय पूँजीवादी शासकहरु पनि उदार चरित्रका हुन्छन्। तर, कति निर्मम र कठोर। कुनै बेला इटाली विश्वकै शक्तिशाली साम्राज्य मानिन्थ्यो, त्यसका शासक थिए राजा निरो।

निरो एक क्रुर रोमन सम्राट थिए, उनी भव्य भोज आयोजना गर्ने सम्राटको रुपमा पनि कहलिएका थिए। ‘रोम जलिरहेको थियो, निरो बाँसुरी बजाइरहेका थिए।’ यो युक्ति राजनीतिक वृत्तमा आज पनि उत्तिकै चर्चित छ। निरोको बाँसुरीलाई प्रतीकात्मक रुपमा शासकहरु जनताप्रति संवेदनशील नभएको अर्थमा पनि लिइन्छ। पढौं के थियो उक्त घटना।

निरो इटालीका शासक थिए, रोममा ठूलो आगलागी भयो। आगलागी नियन्त्रणमा नआउने सम्भावना देखिएन, त्यही बेला निरोले जनतालाई कसरी उल्लु बनाउने ? भन्ने कुरा सोच्न थाले। निरो रोममा नभएको आगलागी जनतालाई जानकारी नहोस् भन्ने चाहन्थे। किनकि, उनी आफू असफलताको कडी बन्न चाहदैनथें। त्यसैले जनता र वुद्धिजीवीको ध्यान अन्तै मोड्न उनले आफ्नै दरबारमा विशेष भोजको आयोजना गरे।

भोजमा रोमका पत्रकार, बुद्धिजीवी, व्यपारी, अधिकारवादी, प्रगतिशील लेखक, नागरिक अगुवा, कलाकार लगायत रोमका सबै विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरियो। दरबारभित्र सजिलै प्रवेश नदिने उनले उक्त भोजमा आलिसान दरबारको बगैंचा खुला गरिदिए। यता रोम जलिरहेको थियो, यता सम्राट निरोदेखि देशका विशिष्ट व्यक्तिहरु भोजमा मस्त थिए। उनीहरु भोज र नसामै लठ्ठिएका थिए।

जब साँझ पर्न थाल्यो, तब भोजमा समस्या देखिन थाल्यो। यति ठूलो बगैंचाका बीचमा प्रकाशको कुनै प्रबन्ध थिएन। निरोलाई भोज असफल होला भन्ने चिन्ताले सताउन थाल्यो। त्यही बीचमा उनले एउटा जुक्ति निकाले। उनले आफ्ना सैनिकलाई रोमका थुनामा भएका कैदीलाई भोजमा ल्याउन उर्दी जारी गरे। त्यसपछि बगैंचाको पर्खालमा बाँधेर कैदीहरुमाथि आगो लगाइयो। जब कैदीहरु जल्न थाले, बगैंचामा उज्यालोको राप देखियो, त्यही कैदी जलेकै प्रकाशले भोज सफल पारियो।

उक्त भोजमा निरो बाँसुरी बजाएर नाँच्न थाले। यता रोम शहरमा आगलागीले अरबौंको सम्पत्ति नष्ट भएको थियो, हजारौं नागरिक घरबारबिहीन भएका थिए। तर, निरोले नागरिकको उक्त पीडाबाट टाढा रहन र आफूलाई सन्तुष्टि दिलाउन भोजको आयोजना गरे। आज पनि विश्वका क्रुर शासकको अग्रपंक्तिमा आउँछन् निरो। निरोको भोजलाई शासकहरु कत्ति बिलासी र नागरिकप्रति अनुदार हुन्छन् भन्ने प्रतीकात्मक सन्देशका रुपमा आज पनि चर्चा गरिन्छ।

शासक अन्धो हुँदा नागरिक पनि बहिरा भए देश डुब्छ, समृद्धिको यात्रामा ठेस लाग्छ। निरो आफै तानाशाह थिए। तर, उनको भोजको मस्तीमा रमाउने बुद्धिजीवीहरुका कारण कारगारका बन्दीहरुलाई जिउँदै जलाइयो। उनीहरुको प्रकाशमा बुद्धिजीवीहरुले पेटभरि भोजन हसुरे। आज पनि शासकहरुलाई जनताप्रति जवाफदेही बनाउन यो युक्तिलाई दृष्टान्तका रुपमा लिने गरिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्