ललितपुर, २१ चैत । ललितपुर महानगरपालिकाले पहिलोपटक मोबाइलबाट ट्राफिक लाइट नियन्त्रण गर्ने प्रविधि (एप्स) भित्र्याएको छ ।
स्मार्ट सिटीको अवधारणमा जोड दिँदै ललितपुर महानगरले पहिलोपटक सो एप्स भित्र्याएको हो । मंगलबार जाउलाखेलको अल्का अस्पतालअगाडि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्यालले संयुक्त रूपमा उक्त एप्स जडित मोबाइल सेट ट्राफिक प्रहरीका कुन्दनकुमार शाहलाई हस्तान्तरण गरे ।
उनीहरुले सडक व्यवस्थापनको नयाँ तरिका अपनाउने कार्यको शुभारम्भ गर्ने जिम्मेवारी प्रदान गरेका छन् । सवारीसाधनको गति र चापअनुसार ट्राफिक व्यवस्थापनको कार्य मोबाइलबाटै हुनेछ । उक्त मोबाइल सेटमा सडक बत्ती नियन्त्रण गर्ने प्रविधि जडान गरेर हस्तान्तरण गरिएको महर्जनले बताए । ‘ट्राफिकले सडक बत्तीको नियन्त्रण मोबाइलबाटै अटोमेटिक वा म्यानुअल प्रयोग गरी स्यामिम्यानुअल विधिमार्फत गर्नेछन्,’ उनले भने, ‘यो एप्सजडित मोबाइल ड्युटीमा रहने प्रहरीको हातमा जुनसुकै समय रहनेछ ।’
महानगरपालिकाले पावरटेक नेपाल र भूस्पर्श कन्ट्रक्सन प्रालिसँग समन्वय गरी सो प्रविधि भित्र्याएको उपप्रमुख सत्यालले जानकारी दिए ।‘अहिले परीक्षणका रूपमा जाउलाखेलको अल्का अस्पतालअगाडि एउटा ठाउँमा मात्र यो प्रविधि राखिएको छ,’ उनले भने, ‘यसले सडक जाम नियन्त्रण गर्न सहयोग गर्नुका साथै सडक यात्रा गर्न सहज वातावरण बनाउनेछ ।’
महानगरपालिकाले मोबाइल सेट हस्तान्तरण गर्नुपूर्व यहाँका ६ ट्राफिक प्रहरीलाई मोबाइल प्रविधिबारे जानकारीसँगै तालिम पनि दिएको थियो । केही समयपछि सो प्रविधि जिल्लाको अन्य स्थानमा जडान गर्ने महानगरपालिकाको योजना छ । उक्त एप्सले गाडीको चाल नियन्त्रण गर्नुका साथै दुर्घटना न्यूनिकरण गर्न सहयोग गर्नेछ ।