प्रश्नपत्र आउट गर्ने प्रहरी सार्वजनिक हुँदै

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, २१चैत। एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले बिहिबार सार्वजनिक गर्दैछ। जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरीका डीएसपी भावेष रिमालले जानकारी दिए। चैत १४ र १५ मा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो। त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो।

अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ। सीआईबीका एक उच्च अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डलसहित आठ जना पक्राउ परेका छन्।

लगातार दुई दिन प्रश्नपत्र आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को एसईई परीक्षाको नियमित तालिका स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि परीक्षा सुरु हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्