‘विशेष अधिवेशन बोलाए सामना गर्छु’ : सभापति देउवा

sher Bahadur Deuwa
लाेकपाटी न्यूज

विराटनगर, २१ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले सामना गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आज सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे ।

सभापति देउवाले स्व. गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट निष्कासन गर्ने थिए भन्दै आफूले चाहिँ केही नगर्ने र अनुशासन समितिले यससम्बन्धी हेर्ने बताए ।

उनले न्यायपरिषदले योग्यता पुगेकालाई नै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हुनाले टीका टिप्पणी नगर्ने प्रष्ट पारे । उनले न्यायपरिषद्ले न्यायाधीश नियुक्त गर्दा राजनीतिभन्दा बाहिर हुनुपर्छ भन्दै नियुक्तका सम्बन्धमा कहीँ कतै कुनै विरोध नभएको उल्लेख गरे ।

सभापति देउवाले वर्तमान सरकारले दुई तिहाइको दम्भमा एकलौटी कार्य गरेको आरोप लगाउँदै यसको विरोधमा विपक्षी पार्टीको हैसियतले सदन र सडकमा विरोध गर्ने समेत बताए ।