वैशाखदेखि अन्तरिक्षमा नेपालको आफ्नै भू-उपग्रह

satelite
लाेकपाटी न्यूज

काठमाडौं । अब नेपालले पनि अन्तरिक्षमा आफ्नै भूउपग्रह राख्ने भएकाे छ। नेपाली वैज्ञानिकहरुले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) आगामी वैशाख ४ गते राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएसँगै नेपालकाे अन्तरिक्षमा उपस्थिति हुने भएकाे हाे ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण हुने भएको हो । जेठको दोस्रो सातासम्म सो भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमूख इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले बताए । स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको ढकालको भनाइ छ । लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा उक्त स्याटेलाइट रहने जनाइएको छ ।

यो स्याटेलाइटको तौल १ हजार ३ सय ग्राम छ भने आकार १० सेन्टिमिटरको छ। नानो स्याटेलाइटको उपयोगका लागि नास्टमा ग्राउन्ड स्टेसन बनाउन भने बाँकी रहेको बताइएको छ । तर, केही दिनमै ग्राउन्ड स्टेसन पनि तयार हुने नास्टको दाबी छ। यो स्याटेलाइट प्रक्षेपण भएपछि नेपालको पनि अन्तरिक्षमा आफ्नै स्याटेलाइट हुनेछ । जसले नेपाली इन्जिनियरसमेत त्यसका लागि सक्षम रहेको सन्देश विश्वभर फैलने आशा राखिएको छ।

जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसंघको सहकार्यमा ६ वर्षदेखि बर्डस् कार्यक्रमअन्तर्गत आफ्नै भूउपग्रह नहुने मुलुकको क्षमता विकास गर्न सघाइरहेको छ । उक्त कार्यक्रमअन्तर्गत नेपाली वैज्ञानिक आवास मास्के र हरिराम श्रेष्ठले जापानमा बसेर नानो स्याटेलाइट बनाएका हुन् । स्याटेलाइट निर्माणमा श्रेष्ठ र मास्केसँगै अन्य आठजना इन्जिनियर तथा वैज्ञानिकले समेत सघाएका थिए । नास्टले नानो स्याटेलाइट प्रक्षेपणका लागि नेपाल सरकारबाट १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएको जानकारी पाइएको छ।

स्याटेलाइट प्रक्षेपणका लागि फागुन ६ गते नै जाक्सालाई हस्तान्तरण गरिसकेकोमा आगामी वैशाखमा मात्र प्रक्षेपण गर्न लागिएको जाक्साले जनाएको छ । बर्डस् कार्यक्रममा विगत ६ वर्षदेखि नेपालसहित १२ देश आबद्ध छन् । कार्यक्रमको सदस्य राष्ट्रको रूपमा नेपालले अन्य सदस्य राष्ट्रसँग सहकार्यसमेत गर्नेछ भने बर्डस्का अन्य सदस्य मुलुकले उडाएको स्याटेलाइटमा समेत नेपालले पहुँच पाउनेछ ।

यो स्याटेलाइट व्यावसायिक प्रयोजनका लागि नभएर ज्ञान र क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण मानिएको छ । ‘व्यावसायिक स्याटेलाइटलाई विस्थापित गर्ने मोडालिटीमा भने नानो स्याटेलाइट प्रक्षेपण गर्न लागिएको होइन,’ संकाय प्रमूख ढकालले भने, ‘यसबाट व्यावसायिक स्याटेलाइटमा काम गर्न आवश्यक जनशक्ति विकास र ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्