काठमाडौं, २१ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना सकिएको छ । मत गणना सकिएसँगै प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठको विजय सुनिश्चित भएको छ ।
मत गणनास्थलमा रहनुभएका अधिबक्ता टीकाराम भट्टराईका अनुसार केहीबेर अघि मतगणना सकिएको हो । निर्वाचन समितिले औपचारिक रुपमा परिणाम घोषणा गर्न बाँकी रहे पनि अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले मतान्तर बढाउँदै बिजय सुनिश्चित बनाएका हुन्। श्रेष्ठ निकटतम प्रतिद्वन्द्वी सुनिलकुमार पोखरेलको भन्दा झण्डै दुई सय मत अगाडि रहेको समितिका एक सदस्यले बताए ।
महासचिवमा भने लोकतान्त्रिक समूहका लिलामणि पौडेलले अग्रता लिएका छन्। प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पछि पार्दै पौडेलले अग्रता लिएको समितिले जनाएको छ ।
मत गणना सकिए पनि अहिले निर्वाचन समितिले देशभरको परिणाम जोड्ने क्रममा रहेको र केही समयमा बिजयको घोषणा गरिने जनाएको छ ।