उर्जामन्त्री र चेक रिपब्लिकका राजदूतबीच भेट : के–के भयो छलफल ?

Barsaman pun
लाेकपाटी न्यूज

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागी चेक रिपब्लिकका आवासीय राजदूत मिलन हेवोर्काबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित उर्जा मन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थिया।

भेटमा उर्जामन्त्री पुनले नेपाल र चेक रिपब्लिकको बीचमा धेरै समानता रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरे। उनले अन्र्तराष्ट्रिय फोरमहरुमा समेत दुवै देशको बीचमा समान धारणा र सहकार्य रहँदै आएको भन्दै आगामी दिनमा पनि थप सहकार्य हुने बताए।

मन्त्री पुनले वेस्ट म्यानेजम्याण्ट, स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा समेत राजदूत मिलनसँग छलफल गरेका थिए। उनले विदेशी लगानीका लागी नेपालमा उपयुक्त वातावरण बनेको भन्दै चेक रिपब्लिकका लगानीकर्ताहरुलाई समेत नेपालमा लगानीका लागी आह्वान गरे।

‘विदेशी लगानीलाई सहयोग पुग्ने गरी हामीले कानून निर्माण गरेका छौं, अहिले लगानीका लागी समेत उपयुक्त वातावरण छ, तपाईमार्फत् चेकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्न चाहन्छु’ मन्त्री पुनले भने।

भेटमा चेक राजदूत हेवोर्काले चेक रिपब्लिक र नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरे। उनले वेस्ट म्यानेजम्याण्ट, स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा काम गर्न चेक कम्पनीहरु ईच्छुक रहेको बताए।

साथै एक सय मेगावाटसम्मको जलविद्युत परियोजनामा लगानी गर्न चेक कम्पनीहरु ईच्छुक रहेको जानकारी समेत उनले दिए।  ‘सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा काम गर्न केही चेक कम्पनीहरु ईच्छुक छन्, नेपाल सरकारले त्यसका लागि हामीलाई वातावरण बनाइदिन आग्रह गर्दछु, हामी नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौं’ राजदूत हेवोर्काले भने।