वर्षातमा सवारी चलाउँदा ध्यान दिनुपर्ने ७ कुरा (टिप्स्)

bike lisence
लाेकपाटी न्यूज

काठमाडौं। वर्षातको समयमा सवारी साधन चलाउनु निकै जोखिमपूर्ण मानिन्छ। वर्षातको समयमा कसरी चलाउने सवारी साधन ? त्यसबारे चालकले केही कुरा जान्नैपर्ने हुन्छ।

नेपालमा हुने सवारी दुर्घटनामध्ये अधिकांश दुर्घटना चालकको लापरवाहीले भएको देखिन्छ। केही दुर्घटना यान्त्रिक कारण र केही सडकको अवस्थाका कारणले हुने गरेका छन्। सवारी साधनको मूख्य निर्णायक व्यक्ति चालक नै हो, ऊ जिम्मेवार भएमा सडक दुर्घटनालाई ह्वात्तै घटाउन सकिन्छ।

सवारीको अवस्था चेकजाँच : वर्षातको समयमा सवारी चलाउँदा विशेष ख्याल गर्नुपर्दछ। पानीले सडक भिजेको बेलामा आफ्नो सवारी साधन लिएर सडकमा निस्कनु अघि सवारी साधनको चेकजाँच गर्नुपर्छ। विशेषगरि वाइपर, हेडलाइट र ब्रेक ठीक हालतमा हुनुपर्छ।

गति कम गर्ने : वर्षातमा सवारी चलाउँदा अत्यन्तै कम गतिमा चलाउनुपर्छ, त्यसले कुनै भैपरि समस्या आइहाले सवारी साधन नियन्त्रणमा लिन सजिलो हुन्छ। गति कम हुँदा दुर्घटना भइहाले पनि कम क्षति हुन्छ, चोटपटकबाट बच्न सकिन्छ।

दुरी राखेर सवारी चलाउने : सवारी चलाउँदा अर्को कुनै सवारी साधनभन्दा केही दुरी राखेर चलाउनुपर्छ। वर्षायाममा सवारी चलाउँदा अझ विशेष ध्यान दिनुपर्छ। त्यसो गर्दा एक–अर्कामा ठोकिने जोखिम कम हुन्छ।

ध्यान अन्यत्र नमोड्ने : सवारी चलाउँदा एकाग्र भएर चलाउनुपर्छ। सवारी चलाइरहेको बेला कुनै कुरा कल्पना गर्नु वा निदाउनु हुँदैन। सोचाइ धेरै हुँदा पनि धेरै दुर्घटना हुने गरेका छन्। त्यस्तै चालकले मोवाइल फोनको प्रयोग गर्नु हुँदैन। सवारी चलाइरहेको बेला लुकिङ ग्लासमा अनुहार हेर्ने र मेकअप गर्ने काम पनि गर्नु हुँदैन।

सडकको अवस्थामा ध्यान दिने : सवारी चलाउँदा सडकको अवस्था ख्याल गर्नुपर्छ। सवारी चलाइरहेको सडकमा कहाँ खाडल छ, कहाँ भत्किएको छ ? त्यसबारे जानकारी राख्नुपर्छ। पानी जमेको वा सडक नदेखिएको ठाउँमा बुझेर मात्र सवारी चलाउनुपर्छ। आवश्यक पर्दा त्यस्ता ठाउँमा रोकिनुपर्छ।

रेनकोटको प्रयोग : वर्षातमा सवारी चलाउँदा लगाइने रेनकोटले पनि सवारी दुर्घटनामा फरक पार्दछ। आजकल हामीकहाँ एउटै रेनकोट २ जनाले ओड्न मिल्ने खालका बजारमा आएका छन्। तर, त्यस्तो रेनकोटले दुर्घटनाको खतरा हुन्छ। विशेषतः २ पाङ्ग्रे सवारी चलाउँदा अलगअलग नै रेनकोट प्रयोग गर्नु उचित हुन्छ।

पैदलयात्रुको ख्याल : वर्षातमा सवारी चलाउँदा पैदलयात्रीको विशेष ख्याल गर्नुपर्छ। पैदल यात्रीलाई पानी छिट्याउने काम सभ्यताको सूचक हुन सक्दैन। त्यस्तो ठाउँमा बिस्तारै वा आवश्यक पर्दा सवारी साधन रोक्नुपर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्