बिदामा पनि ऊर्जामन्त्रीकाे अनुगमन

mantri101501
लाेकपाटी न्यूज

काठमाडौं, २३ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदी संरक्षण परियोजनाको शनिबार समेत स्थलगत अनुगमन गरेका छन् । मन्त्री पुन सिंचाई मन्त्रालयका सचिव डा.संजय शर्मासहित शनिबार परियोजनास्थल पुगेका हुन् ।

उनले मन्त्रालयअन्र्तगतका जलविद्युत परियोजना र सिंचाईका आयोजनाको निरीक्षणका लागि विदाको दिनसमेत अनुगमनमा निस्कँदै आएका छन् । उनले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको बारेमा आयोजनाका अधिकारीसँग छलफल गरेका हुन् । मन्त्री पुनले आयोजनास्थलमा अनुगमनका क्रममा आयोजित छलफलमा भने, ‘बाग्मती सम्पदासँग जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्ने हुन्छ, यो नयाँ आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौं।’ मन्त्री पुनले जिम्मेवारीपूर्ण तरिकाले काम गर्न निर्देशन दिएका छन् । बाग्मती सभ्यतासँग जोडिएको आयोजना भएकाले पनि यसमा सबैको चासो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने बताए । ‘यो परियोजनामा सबैको चासो छ, काठमाडौंमा धेरै मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पनि पार्छ । त्यसैले यसमा जिम्मेवारीका साथ काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।’ मन्त्री पुनले भने ।

उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने भन्दै समयमै काम पूरा गर्ने तर्फ ध्यान दिन निर्देशन दिए । उनले निर्माणको जिम्मा पाएको कम्पनीलाई समयमा काम सम्पन्न गर्न समेत आग्रह गरेका छन् । उनले निर्माण व्यवसायीहरुले काम समयमा नगर्दा राज्य र सरकारमाथि प्रश्न उठेको भन्दै जिम्मेवार बन्न सुझाव दिएका छन् । बाग्मती मानव सभ्यताँंग जोडिएकाले पनि यसको संरक्षणका लागि लाग्नुपर्ने उनको भनाइ थियो । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको उक्त परियोजना सम्पन्न भइसकेपछि बाग्मती सफाइमा सहयोग पुग्ने विश्वास लिइएको छ । आयोजना प्रमूख नवराज सुवेदीकाअनुसार उक्त ड्याम निर्माण भइसकेपछि पानी जम्मा गरेर हिउँदमा बाग्मतीमा पठाउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्