यसकारण भयो कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित

लाेकपाटी न्यूज

काठमाडौं, २३ चैत । शनिबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्य समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो।

शीर्ष नेताहरूबीच व्यापक सहमति खोजेर केन्द्रीय कार्य सम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेका पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रीय कार्य सम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए।

कांग्रेसको नयाँ विधानमा २८ वटा विभागहरू गठन गर्ने व्यवस्था गरिएको छ। तर सभापति देउवाले ती विभागहरू गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ। विभाग गठनका लागि देउवामाथि दबाब परेपछि कांग्रेस केन्द्रीय कार्य समिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यस अघि नै गठन गरिसकेको छ।