काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन्।
न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रहसमेत गरे।
काठमाडौंमा शनिबार आयोजित न्यायाधीश समाजको वार्षिक साधारणसभामा प्रधानन्यायाधीश जबराले उच्च अदालतमा न्याय परिषद्ले सम्मान गरेका न्यायाधीश ल्याउने वातावरण नभएको पनि बताए। ‘न्यायाधीशको अनुभव भएको, कानुन व्यवसायीको अनुभव भएको, हामीमध्येबाट नै बलजफ्ती गरेर पठाएको, डक्ट्रेड गरेको व्यक्तिलाई लिएर आउनु भनेको भेस्टेट इन्ट्रेस्ट छ।’
प्रधानन्यायाधीश जबराले भने, ‘तपाईहरू बीचमा रहेका राम्रा व्यक्तिहरूलाई ल्याउने परम्परा सुरु गर्न सकुँ भन्ने मेरो पवित्र लक्ष्य हो।’ यो समाचार आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेका छन्।
प्रधानन्यायाधीशले न्यायाधीशहरूलाई प्रतिप्रश्न गर्दै थपे, ‘आज मैले एउटा न्यायाधीशबाट बाहिर गएको व्यक्तिलाई स्थान दिँदा स्वीकार्य हुँदैन भने तपाईहरू बीचमा गएर, समुद्रको तल्लो फेदमा गएर, नियुक्त गरेर, लिएर आएँ भने तपाईहरू स्वीकार्नुहुन्छ ? मान्नुहुन्छ ? तपाईहरू बीचमा हीरा हुनुहुन्छ। तर, त्यो हीरा टिप्ने प्रवृत्तिलाई किन निरुत्साहित गरिन्छ ? मैले बुझ्न सकिनँ।’
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका पाँचमध्ये एक अधिवक्ता मनोजकुमार शर्मा पिचएचडी होल्डर हुन्। उनी पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन्। मनोजकुमार तत्कालीन पुनरावेदन अदालत बुटवलका ‘अतिरिक्त न्यायाधीश’ नियुक्त भएका थिए। संविधान आएसँगै अतिरिक्त न्यायाधीशको पद खारेज भएपछि उनी स्वतः हटेका थिए।
तर, नयाँ पत्रीका दैनिकले लेखेको छ, न्याय क्षेत्रलाई जनमुखी बनाउन प्रभावमा नपरेर न्याय सम्पादन गर्नु रहेको भन्दै प्रधानन्यायाधीश राणाको चर्को आलोचना भएको दाबी गरेको छ।
समाचारमा जनाइए अनुसार राणाले अहिले नियुक्त भएका न्यायाधीशको बारेमा यस्ता कुरा गरेर हुँदैन। उसो भए राजीनामा गरौं। सामूहिक राजीनामा गरौं। म त्यसको नेतृत्व गर्छु। हाम्रो नियुक्त प्रक्रिया पनि यसरी नै भएको हो। अझ पहिले न्यायाधीश नियुक्ति गर्दा बहुमत नै नपुग्ने, बैठक छाडेर हिड्ने, लगायत कुरा हुन्थे। तर, अहिले सबै उपस्थित भएर गरेको सिफारिसलाई अन्यथा लिन हुँदैन। राणाले चर्किदै भनेका छन्।
यस्तै राणाले न्यायाधीशको कुर्सीमा बसेर कहिले सत्य कहिले असत्यको पक्षमा बोल्न पर्ने र अत्यन्तै अप्ठ्यारो हुने अनुभव समेत सेयर गरेका छन्। राणाले थप्दै भने, न्यायाधीश नियुक्ति प्रक्रियामा समस्या छ। पहिले देखि नै यसरी हुँदै आएको छ।
यसमा पहिलेको नेतृत्वले यहि गरेको छ। अर्को कुरा तपाईं हामी समेत यहि प्रक्रिया अनुसार आएका हौं। अनि आफुले आफुलाई एकपटक हेरौं। अनि आफ्नो कुरा सम्झिऔ। होइन गलत नै भएको हो भने सामूहिक राजीनामा गरौं। म नेतृत्व गर्छु।