गणेश बस्नेत
संयुक्त राष्ट्रसंघले आयोजना गरेको शक्तिमा नारी नामक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन गत फागुन २६ गते अमेरिकातिर लाग्दा सफलताको कथा खोज्ने चाहना आयो। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण दलमा सहभागी भई उहाँसँगै कतार एअरको बिमानमार्फत न्यूयोर्कतिर लाग्दा अमेरिकामा रहेका नेपालीको सफलताको कथा बुझ्ने कौतुहलता जाग्यो। सम्माननीय राष्ट्रपतिसँगै स्वदेश नफर्की अमेरिकाका केही राज्यहरुमा रहेका नेपाली, (जो नेपालमा पनि समाजसेवामा सक्रिय छन) को सामाजिक काम र ब्यवसायिक सफलताबारे बुझ्ने इच्छा जाग्यो। त्यही चाहनाअनुसार १० मार्चमा अमेरिका उडान गरी २४ मार्चमा नेपाल फर्कने योजना बनाइयो।
अमेरिका यात्रा गर्दा पूर्वनिर्धारित योजनाअनुसार राष्ट्रसंघको सम्मेलन सकाएर राष्ट्रपति स्वदेश फर्कनुभएकै दिन न्यूयोर्कबाट नेपालीको सफलताको पाटो बुझ्न लागियो बाल्टिमोरतिर। न्यूयोर्क पुगेकै दिन एउटा समाचार पढियो– जम्बो टोली लिएर राष्ट्रपतिको अमेरिका भ्रमण।’ त्यो समाचार पढेपछि पत्रकारिताको आवरणमा देशबिरुद्ध हुर्मत लिने जमात अमेरिकामा नेपालभन्दा पनि बढता नै रहेछ भन्ने अनुभूति भयो। तथ्यलाई ढाकछोप गरेर सत्यको घाँटी निमोठ्ने छुल्याहाहरुको जमातको कामबारे राम्रोसँग जानकार भइयो। न्यूयोर्क बस्दा यस्ता अफवाहहरु निरन्तर आइरहे। नेपालमा पत्रकारिता गर्न नसकेर अमेरिका पुगेको बेला उतै लुकेका केही जमातको काम थियो त्यो।
ग्रिनकार्ड लिन सवै नक्कली कागजात बुझाएको त्यो समूहको काम नेपालबाट आउने सम्मानित नेताको बिरुद्ध जेहाद छेडनेदेखि देशबिरुद्ध सवै गतिबिधि गर्नेसम्मको अपराध कर्म रहेछ। अर्थात् अमेरिकामा रहेका देशभक्त ९० प्रतिशत नेपाली त्यही नक्कली कागजातधारी समूहको कारण बदनाम हुनुपर्ने बाध्यतामा रहेछन्। यो सच्चाई बुझेपछि न्यूयोर्कतिर नेपालका सम्मानित नेता आउँदा के गर्छन भन्ने विषय बुझ्न थप दिमाग खियाइरहनु जरुरी भएन। कुकुर भुन्दै गर्छ, हात्ती लम्कदै गर्छ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै यात्रा अघि बढाइयो।
१४ मार्चको बिहानै सम्माननीय राष्ट्रपति स्वदेश फर्कनुभयो। उहाँ स्वदेश फर्किएलगत्तै न्यूयोर्कबाट लागियो बाल्टिमोरतिर। जहाँ भ्रमणका लागि प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाका अध्यक्ष प्रभु थापाले पटकपटक निम्तो दिनुभएको थियो। ओएनएफ अमेरिकाका अध्यक्ष थापासहित महासचिव राधाकृष्ण देउजाले अमेरिकामा केही दिन रहेर नेपालीको अवस्था बुझ्न सुझाउनु भएको थियो। त्यहीअनुसार भ्रमण योजना बन्यो। नेपालमा लामो समय सँगै पत्रकारिता गरेका हेम पाठक (जसलाई म सदैव ठूल्दाजु भनेर सम्बोधन गर्छु) र भाउजु सरिताले आफ्नै मेहनतमा टेक्ससमा खडा गरेको साम्राज्य हेर्ने कौतुहलता मनभित्र थियो, योजना बन्यो। काठमाडौंबाट न्यूयोर्क जाने क्रममा नै २४ मार्चमा फर्कने गन्तब्य शिकागो बनाइएको थियो।
त्यहीअनुसार बाल्टिमोर, डिसी हुँदै टेक्ससको अस्टिन पुगेर हेम दाजुको नगरीमा केही दिन बिताउने तय भयो। ब्रिटिस सामाज्यलाई परास्त गरेको बाल्टिमोर अनि डिसीस्थित अमेरिकी राष्ट्रपतिको निवास ह्वाइटहाउसको अवलोकन अमेरिका पुग्ने जो कोही पत्रकारको चाहना हुन्छ। यी दुई स्थानको अवलोकनमा राष्ट्रपतिको भ्रमण दलको बरिष्ठतम सदस्य रहनुभएकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापासमेत हुनुहुन्थ्यो।
बाल्टिमोरमा अमेरिकाका लागि अबैतनिक नेपाली महाबाणिज्यदुत, प्रेमराजा महत (जो नेपालका स्थापित कलाकार हुनुहुन्छ) ले सञ्चालन गर्नुभएको नेपाल हाउस अनि ओएनएफ अमेरिकाका अध्यक्ष प्रभु थापाको हिमालयन हाउसको अवलोकन गर्ने मौका मिल्यो। नेपाल हाउस हिमालयन हाउसको दृष्य हेर्दा नेपालमा पर्यटन प्रवर्धनका लागि गरेको प्रशंसायोग्य काम देखियो। नेपालका सवै सम्पदालाई नेपाल हाउस र हिमालयन हाउसमा कैद गर्दै नेपाल घुम्न जान प्रोत्साहित गर्दै आउनु भएको रहेछ महत र थापाले।
दुई दिनको बसाईपछि लागियो टेक्ससको अस्टिनतिर। धेरै आफन्त र साथीभाईले डालस आउन सुझाउनु भएको थियो, तर समयको चापले पुग्न सकिएन। सिधै अस्टिन बिमानस्थलमा अवतरण गरियो। जहाँ हेम दाजु स्वागतका लागि बस्नुभएको थियो।
म अमेरिकातिर लाग्दा इजिप्टमा छुटी मनाइरहनु भएको उहाँ र भाउजु आफ्नो पूर्वनिर्धारित कार्यक्रम छोट्टयाएर अमेरिका फर्कनु भएको थियो मेरै लागि अमेरिका घुमघामको व्यवस्था मिलाउन। इजिप्टबाटै अस्टिनमा आउने निम्तो दिनुभएको थियो हेम दाजुले। अस्टिन विमानस्थलमा स्वागतसँगै भन्नुभयो, के छ योजना ? कता कता घुम्ने हो ? मैले आग्रह गरें–तपाइको जहाँजहाँ ब्यापार ब्यवसाय छ, त्यहीत्यँही अवलोकन गर्ने, अनि सकिन्छ भने ग्रामिण बस्तीको अवलोकन गरी कृषिको आधुनिकीकरण हर्ने, जहाँबाट थोरै भए पनि ज्ञान हासिल गर्न सकियो। उहाँले त्यसैअनुसार आवश्यक व्यवस्था मिलाउनु भयो।
अस्टिनमा पहिलो दिन त्यहाँ बस्ने नेपालीको परिवारको पिकनिक रहेछ, त्यही पुगियो, जहाँ अखिलमा काम गर्दाका मित्र मदन शिवाकोटीसहित हिमेश ओलीसँग भेट भयो। हेम दाजु र भाउजुसँगै पुराना दुःखका मित्रहरु भेटदाको आनन्द शब्दमा बर्णन गर्न सक्ने कुरै भएन। जव अस्टिन पुगियो, भोलिपल्ट एउटा अनलाइनले मेरैबारेमा समाचार लेखेछ, त्यही दिन खिचिएको फोटो हालेर। लेख्ने ब्यक्ति रहेछन्, मेरै परम मित्र डा. प्रदीप भट्टराई। हैसियत मापन गर्दै लेखिएको समाचार पढेपछि पिएचडीप्रति नै दया लाग्यो।
पिएचडी गरेको ब्यक्तिले प्रयोग गर्ने शब्द छँदै थिएनन् त्यो समाचारमा। थियो त केवल कुण्ठा अनि जीवनप्रतिको अति धेरै निरासा। परममित्र भट्टराईजीकै अनुकम्पाले अमेरिकामा लुक्यो भनेर पनि त्यस्तै कुण्ठा आएछ अर्को दिन। समाचारको सार थियो, ‘यो पंक्तिकार अमेरिकामै लुक्छ।’ कुनै कार्यक्रममा झुक्किएर अमेरिका पुगेपछि त्यतै लुकेका मित्रहरुले अरु पनि आफू जस्तै हो, अमेरिकामै लुक्छन भन्ने ठान्नु स्वभाविकै थियो, मित्रले पनि आफूअनुसार नै लेखे। लुक्नेहरुले अरुलाई लुक्छ भन्ने ठान्नु स्वभाविक हो। मैले पनि त्यही रुपमा लिएँ।
अमेरिका पुगेपछि त्यतै लुक्ने हैसियत बनाएकाहरु राष्ट्रप्रमुख वा सरकार प्रमुखको भ्रमण दलमा पर्दैनन भन्ने सच्चाइलाई बुझेको भए त्यति धेरै कुण्ठा आउने थिएन। आफू कहिल्यै पर्न सकिएन, त्यस्ता भ्रमण दलमा भन्ने कुण्ठा अनि अमेरिकामा लुकेर बस्नु परेको पीडाबोध ती शब्दहरुमा थिए। मित्र प्रदीपको त्यो अपार मायालाई मनमा राखेर यात्रा अघि बढाइयो। न्यूयोर्कबाट प्रवेश गरेर सिकागोबाट फर्कने यात्रा तय भएको कारण अमेरिकाको अन्तिम गन्तब्य शहर थियो, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओवामाको गृहनगर शिकागो। विकासमा छलाङ, कृषिमा आधुनिकिकरण अनि सिष्टममा चल्ने मानिसबारे बुझदै र स्थलगत अवलोकन गर्दै बिभिन्न राज्य र शहरपछि अस्टिनबाट सिकागोतिर लागियो। हेम दाई आफै शिकागो बिमानस्थलसम्म छोड्ने भनेर मसँगै आउनुभयो।
सिकागो विमानस्थलमा स्वागत गर्न आइपुग्नुभयो, बाला घिमिरे दाइ। अमेरिका यात्राबाट नेपाल फर्कने गन्तब्य सिकागो बनाउन उहाँ र टेकराज पौडेल दाइले नै सुझाउनु भएको थियो। शिकागोको दुई दिन बसाइले त्यस क्षेत्रको नेपालीको प्रगतिको कथा बुझ्ने अवसर मिल्यो। शिकागो बसाइमा होली खेल्नेदेखि अमेरिकामा स्थापित पत्रकार मित्रहरु सूर्य थापा, किरण मरहठ्ठा, गोकुल ढकाल, जगन निरौलासँगै लामो समय छलफलमा सहकार्य गरेका मित्र केशव खनाल अनि विष्णु छिमेकीसँगको भेट निकै यादगर रह्यो।
सिक्न चाहनेका लागि अमेरिका आफैमा एउटा विश्वविद्यालय रहेछ। सकारात्मक सोच राख्नेका लागि अमेरिका आफैमा संजीवनीबुटी रहेछ। मेहनतीका लागि अमेरिका उत्साह भर्ने अस्त्र रहेछ। कुण्ठा पाल्नेका लागि अमेरिका अपराधकर्मको बाटो रहेछ।
जेहोस् अमेरिका बसाइका क्रममा न्यूयोर्कमा मित्र टिपी न्यौपाने, जस्ले न्यूयोर्क बसाइको सम्पूर्ण प्रबन्ध मिलाउनु भयो, छोरी निलम थापा, ओएनएफ महासचिव मित्र राधाकृष्ण देउजा, नवराज सापकोटा, किशोर पन्थीको आत्मीय मायाको झल्को आइरहेछ। बाल्टिमोरमा ओएनएफ अमेरिकाका अध्यक्ष प्रभु थापा, जसले बाल्टिमोर डिसी घुमाउने सम्पूर्ण प्रबन्ध मिलाउनु भयो, प्रेमराजा महत, तरुण पौडेल र कृष्ण कार्की दाईको माया र सम्मान उत्तिकै स्मरणीय छ। टेक्ससमा हेम दाइ, भाउजु सरिताको माया, ममता अनि आत्मीयताको वर्णन शब्दमा छैन।
मित्र मदन शिवाकोटी र हिमेश ओलीसहित अस्टिनमा रहेका थुप्रै मित्रजनको मायाले अमेरिका बसाईलाई काठमाडौंमै रहेको अनुभुति गरायो। हेम दाजु नै शिकागो विमानस्थलसम्म छोड्न आउनु भएपछिको यात्रा झनै अविश्मरणीय रह्यो। उहाँसहित बाला घिमिरे, टेकराज पौडेल जस्ता दाजुहरु अनि केशव खनाल, प्रीति खत्रीजस्ता अतिप्रिय मित्रसँगको भेटले शिकागोमा पनि अस्टिनकै अनुभूति गरायो। अमेरिकामा लुक्न र भुक्न सक्नेले जे लेखे, जे–जे अफवाह फैलाए। तर, मेरा लागि ती सबै मायाको चिनोका रुपमा रहे। अमेरिकाको यात्रा निकै यादगर रह्यो ।
अमेरिका रहेकै बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि डिसी हुँदै बाल्टिमोर पुग्नुभयो। नेपालबाट अमेरिकातर्फ लागेदेखि नै एउटा समूह अफवाह फैलाउन ब्यस्त देखियो। नक्कली माओवादीपीडित बनेर एसाइलम फारम भरेर ग्रिनकार्ड लिएको केही ब्यक्तिको झुण्डले प्रचण्डविरुद्ध ठूलै अफवाह फैलाउन खोज्यो। त्यो समूहलाई देशका सम्मानित संस्था र नेताहरुको बिरुद्ध अनेकन अफवाह फैलाएर मुतको न्यायो लिने समूहले पनि साथ दियो। राष्ट्रपति आउनै नहुने कार्यक्रममा पनि जम्बो टोली लिएर करोडौं सकाइयो भन्दै त्यो समूह लागिरह्यो।
प्रचण्डको विषयमा पनि त्यही गर्यो। त्यो समूहको काम अमेरिकामा बसेर नेपाल, नेपाली र सम्मानित संस्थाको बदनाम गराउने रहेछ। नियतमै खोट रहे पनि अरु केही गर्दैन, तिनिहरुले पनि त्यही गरिरहेका छन्। तर, यति चाँहि भन्नैपर्छ, अमेरिकामा सफल नेपालीका कथालाई तिनै एकाध पाखण्डहरुले ढाकिरहेका छन्। छोटो समयमा अमेरिकामा देखिएका यी केही पवबृत्तिपछि अमेरिकामै रहेका प्रतिष्ठित नेपालीको भनाई स्मरण गर्न मन लाग्यो, ‘भुक्न सके भुक कान्छा अमेरिकाबाटै भुक, नेपालतिर छैन हैसियत, कुण्ठा पाल्दै लुक।’