भिक्षु अश्वघोषको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

bhikshu
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भिक्षु अश्वघोषप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरको निधन भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको जनाउँदै ओलीले श्रद्धासुमन व्यक्त गरेका हुन्।

आज शोक वक्तव्य जारी गरी उनले सात दशकभन्दा लामो समयदेखि प्रव्रजित जीवनयापन गरिरहेका भिक्षु अश्वघोषले बुद्धका सन्देश र दर्शनका विषयमा ज्ञानको व्यापक प्रसार गर्न सम्पूर्ण जीवन समर्पित गरेको उल्लेख गरेका छन्।

वि.सं २०४६ को जनआन्दोलनपछि तत्कालीन संसदमा निर्वाह गर्नु भएको सक्रिय र रचनात्मक भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले तत्कालीन अश्वघोष नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएको समेत उल्लेख गरे।

वि.सं २०५१ सालमा लुम्बिनी विकास कोषको उपाध्यक्ष भएपछि अश्वघोषले बुद्ध जन्म स्थलमा आवश्यक सुधार र गुरुयोजना कार्यान्वयनका लागि महत्वपूर्ण योगदान दिएको प्रधानमन्त्रीद्वारा जारी वक्तव्यमा उल्लेख छ । बुद्ध धर्म र दर्शनसँग सम्बन्धित झण्डै डेढ सय पुस्तकका लेखक भिक्षु अश्वघोषको निधनबाट राष्ट्रले एक वरिष्ठ साधक र विद्वानलाई गुमाएको ठहर प्रधानमन्त्री ओलीको छ ।

‘अश्वघोष हाम्रो स्मृतिमा सदा अमर रही रहनु हुनेछ । अश्वघोषप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गर्दछु । साथै, दुःखको यस घडीमा बनेपास्थित ध्यानकुटी विहार र काठमाडाैंको ढल्कोस्थित संघाराम विहारका समस्त साधक, धर्मोदय सभा, अखिल नेपाल भिक्षु महासंघ, तथा उहाँका शिष्यहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले वक्तव्यमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्