नेपाल डिजिटल इकोनोमी यात्रामा छ : मन्त्री बाँस्कोटा

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल डिजिटल यात्रामा अगाडी बढेको बताएका छन् ।

उनले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् । सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै उनले सरकार सूचना प्रविधिमैत्री नेपाल ९डिजिटल नेपाल० बनाउने लक्ष्यमा सक्रिय रहेको बताए ।

उनले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी पनि यही गतिमा कुद्न चाहन्छौ, यसका लागि सरकार यस क्षेत्रमा कार्यरत लगानीकर्ता, कम्पनीसँग साथ र सहयोग लिन चाहन्छ ।’

हालै सम्पन्न लगानी सम्मेलनले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएको मन्त्री बाँस्कोटाको भनाइ छ । मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिँदै उनले फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने उल्लेख गरे ।

उनले सूचना प्रविधिका क्षेत्रमा थप लगानी आकर्षण गर्न, यस क्षेत्रमा रहेका नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको जानकारी गराए । ‘समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमियात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ’, उनले भने ।