माग पूरा नभए आन्दोलन जारी राख्छाैं : सरकारी चिकित्सक संघ

Chikitsak-aandolan-87
लाेकपाटी न्यूज

काठमाडौं, २४ । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएपछि देशभरका सरकारी अस्पतालमा स्वास्थ्य सेवा ठप्प भएको छ । यसले गर्दा हजारौ बिरामी मर्कामा परेका छन् । संघले गत शुक्रबारदेखि आफूहरुको माग पूरा नभएसम्म आन्दोलनका कुनै पनि कार्यक्रम स्थगित नगर्ने चेतावनी दिएको छ ।

चिकित्सकहरु आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि बिरामीहरु मर्कामा परेका छन् । काठमाडौंका वीर, ट्रमा सेन्टर, प्रसुती, कान्ती, शुक्रराजलगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले पनि सेवा पाउन सकेका छैनन् । विभिन्न जिल्लाबाट रिफर भएर आएका बिरामीहरु अलपत्र परेका छन् ।

त्यस्तै, मानव अंग प्रत्यारोपण केन्द्र र पाटन अस्पताललगायतमा उपचारका लागि पुगेका बिरामीले पनि हडतालका कारण सेवा नपाउँदा आक्रोशित बनेका छन् । तर उक्त आफूहरूलाई संघमै समायोजन गर्नुपर्ने माग राखेर गोदानको अगुवाइमा देशैभरका सरकारी चिकित्सक आदोलनमा छन् ।

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दिपेन्द्र पाण्डेले प्रधानमन्त्रीलगायत सरकारका उच्च पदाधिकारीले माग बमोजिम संघमा समायोजन गर्ने आश्वासन दिएपछि आफूहरुले हडताललगायत विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको भए पनि अहिले धोका पाएको बताए ।

गतसाता सरकारले सार्वजनिक गरेको कर्मचारी समायोजन सूची आफुहरुसँग गरेको सम्झौताविपरीत अधिकांश चिकित्सकलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेपछि पुनः आन्दोलन तथा हड्तालका कार्यक्रममा उत्रनु परेको उनीहरु बताउँछन् । उनीहरुले आफूहरुलाई संघ मातहत राखिनुपर्ने माग गरेका छन् ।

“हामीहरुसँग स्वयम् प्रधानमन्त्रीले नै तपाईंहरु आन्दोलन स्थगित गर्नुहोस् तपाईंहरुका जायज मागहरु पूरा हुन्छ भनेर प्रतिबद्धता गर्नुभएको थियो । उहाँले प्रतिबद्धता पूरा गर्नुभएन । जबसम्म माग पूरा हुँदैन । हामी आकस्मिक बाहेकका सेवा ठप्प पारेर अनिश्चित रुपमा आन्दोलनमा उत्रन्छौं,” उनले भने ।

सरकारले आफूहरुले राखेको माग पूरा नगरे देशैभरका सरकारी अस्पतालका चिकित्सकहरुले सामूहिक राजीनामा दिने चेतावनी दिए । त्यस्तै, नेपाल चिकित्सक संघले सर्मथन जनाएपछि गोदानको आन्दोलन तथा हडताल अझ पेचिलो बनेको छ । नेपाल चिकित्सक संघका महासचिव डा।लोचन कार्कीले सरकारले चिकित्सकको माग बमोजिम समायोजन नसच्याएसम्म गोदानको आन्दोलनमा साथ दिइरहने बताए ।

“सरकारले गोदानले राखेको मागमा कुनै सुनुवाइ नगरे चिकित्सक संघ जस्तोसुकै आन्दोलन गर्न तयार रहेको छ,” उनले भने । केही सरकारी चिकित्सक भने सरकारले खटाएअनुसार काममा जानैपर्ने बताउँदै आन्दोलनमा सहभागी भएका छैनन् ।

यी हुन् गोदानले राखेका माग

समायोजन अध्यादेश सम्बन्धमा

क. प्रदेश या स्थानीय निकायमा समावेश हुने चिकित्सकहरूको सेवा, सुविधा, सुरक्षा, सरुवा, बढुवा तथा अन्य वृत्तिविकासको स्पष्ट खाकासहितको प्रादेशिक र स्थानीय निजामती सेवा ऐन निर्माण भएपश्चात् मात्र समायोजन प्रक्रिया अगाडि बढाइयोस् ।

ख. समायोजन अध्यादेशको दफा ७ को उपदफा ४ बमोजिम समायोजन गर्दा चिकित्सकलाई स्वतः कम्तीमा एक तह स्तरवृद्धि गरियोस् ।

ग. बाध्यकारी समायोजनको साटो समायोजन प्रक्रियालाई स्वैच्छिक बनाइयोस् । संघमा दरबन्दी मिलान हुन नसकेका चिकित्सकहरूलाई पुल दरबन्दीमा राखी केन्द्रीय र प्रादेशिक या अन्य सरकारी अस्पतालमा कामकाजमा खटाउन सकिने व्यवस्था मिलाइयोस् ।

घ. प्रदेश या स्थानीयमा समायोजनपश्चात् निश्चित अवधिपछि संघमा आउन सक्ने बाटो खुला राखियोस् ।

ङ. प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालयहरूमा स्वास्थ्यसेवाका वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मीमध्येबाट सचिव नियुक्ति गरिने प्रावधान राखियोस् ।

च. स्वास्थ्यसेवा समूहबाट मात्र स्वास्थ्यसचिव नियुक्त हुनुपर्ने कानुनी प्रावधानविपरीत प्रशासन समूहबाट गरिएको स्वास्थ्यसचिवको नियुक्ति फिर्ता लिइयोस् ।

छ. स्वास्थ्यसेवा ऐन खारेज भई सबै स्वास्थ्यकर्मी संघीय निजामती सेवा ऐनबाट परिचालित हुँदै गरेको अवस्थामा स्वास्थ्यका कर्मचारीलाई निजामतीसरह समकक्षता गरी एघारौं तह (सहसचिव) स्तरका कर्मचारीलाई प्रशासनसम्बन्धी तालिम दिएर अन्य प्राविधिक निकायसरह जुनसुकै मन्त्रालयको सचिव हुन सक्ने न्यायोचित व्यवस्था गरियोस् । साथै, प्रदेशस्तरमा समेत सोहीअनुसार हुने व्यवस्था गरियोस् ।

संघीय निजामती ऐन सम्बन्धमा

क. दफा ८ को उपदफा १ अन्तर्गत राजपत्रांकित द्वितीय श्रेणी र प्रथम श्रेणी तथा स्वास्थ्यसेवाको नवौँ र दशौँमा पदपूर्तिसम्बन्धी व्यवस्था फरक गरिएकोमा स्वास्थ्यसेवामा समेत एकरूपता गर्नुपर्ने–नपर्ने भन्नेमा सबै पक्षसँग छलफल गरी निर्णय गरियोस् ।

ख. दफा १०६ को उपदफा १ मा बढुवाका लागि उम्मेदवार हुन बढुवा हुने पदको श्रेणी वा तहभन्दा एक श्रेणी वा तहभन्दा एक श्रेणी वा तहमुनिको पदमा न्यूनतम सेवाअवधि राजपत्रअनंकित वा सहायकस्तरको पदका लागि ४ वर्ष तथा राजपत्रांकित वा अधिकृतस्तरको पदका लागि ६ वर्ष तोकिएकोमा सरकारी सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई जटिल परिस्थिति उत्पन्न भएको एवम् स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गम्भीर असर गर्ने भएको हुँदा विगतको स्वास्थ्यसेवा ऐनअनुरूप नै हुने गरी प्रावधान व्यवस्था गरियोस् ।

ग. प्रशासन र स्वास्थ्यसेवा दुवैमा तहगत व्यवस्था लागू गरियोस् ।

अन्य
क. यस संघको पटक–पटकको विरोधका बाबजुद पनि सरकारी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत गर्ने दुष्कार्य नरोकिएकाले सरकारी अस्पतालहरूको निजीकरण गर्ने कार्य तुरुन्त बन्द गरियोस् र सबै स्वास्थ्य प्रतिष्ठानहरूलाई एक साझा छाता सरकारी मेडिकल विश्वविद्यालयअन्तर्गत राखियोस् ।

ख. हालसालै जिल्ला जनस्वास्थ्य कार्यालयहरू यथावत् राख्ने निर्णय भएकोमा चिकित्सकको दरबन्दी रहेका स्वास्थ्यका सम्पूर्ण संरचनाहरू सोमार्फत प्रदेश र संघअन्तर्गत नै राखियोस् ।