विप्लव निकट विद्यार्थी नेतृ पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

पोखरा, २५ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीकी एक नेतृ पक्राउ परेकी छिन् ।

क्रान्तिकारी विद्यार्थी संगठनकी पोखरा जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

स्याङ्जा स्थायी ठेगाना भएकी विद्यार्थी नेतृ नेपाली हाल फूलबारीमा बस्दै आएकी थिइन् । प्रहरीले गत हप्ता सोही विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस एकाइका अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो ।

यसअघि उक्त समूहका प्रदेश संयोजक किसानसिंह गुरुङ र कास्की प्रमुख रामकाजी गुरुङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।