सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’

nurse 1
लाेकपाटी न्यूज

बिराटनगर, २५ चैत। प्रदेश नं. १ सरकारले सरकारी विद्यालयमा ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालन गरेको छ। पहिलो चरणमा छनौट गरिएका १४ जिल्लाका १४ विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ‘विद्यालय नर्सिङ सेवा’ सञ्चालनका लागि नर्स छनोट गरी सम्बन्धित विद्यालयमा पठाएको जनाएको छ। चालु आर्थिक वर्षका लागि सञ्चालनमा ल्याइएको कार्यक्रमका लागि १४ जना नर्स छनौट गरी चैत १ बाट विद्यालयहरुमा पठाइएको मन्त्रालयको सामाजिक नर्सिङ शाखा प्रमुख केसु काफ्लेले जानकारी दिइन्।

‘चालु आर्थिक वर्षमा १४ वटा विद्यालयमा यो कार्यक्रम लागु गरिए पनि आगामी आर्थिक वर्षबाट अन्य सरकारी विद्यालयमा समेत लागु गर्दै लैजाने मन्त्रालयको योजना छ,’ उनले भनिन्। औषधि उपकरण खरिदका लागि पनि छुट्टै बजेट बिनियोजन गरिएको काफ्लेले जानकारी दिइन्।

विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका खुवाउनुका साथै स्वास्थ्यप्रति उत्प्रेरित गर्दै सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राख्न लागिएको हो। मन्त्रालयले विद्यालय नर्सिङ कार्यक्रमका लागि यो आर्थिक वर्षमा नर्सको तलवका लागि ४९ लाख रुपैयाँ विनियोजन गरेको छ।

किशोर-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी दुई वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाएको थियो। मन्त्रालयले विद्यालय नर्स मार्फत किशोर-किशोरीलाई प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाइसम्बन्धी परामर्श दिइने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्