काठमाडौं, २५ चैत। आर्थिक वर्ष २०७६\७७ मा समावेश गर्नुपर्ने योजनाका विषयमा छलफल गर्न सांसदहरुको दुई टोली जिल्ला देशब्यापी भ्रमणमा जाने भएको छ। बजेटबारे अध्ययन गर्न सांसदहरुको एक टोली पूर्व र एक टोली पश्चिममा गर्ई छलफल गर्ने छ।
संसदको अर्थ समितिले नेपाल कम्युनिस्ट पार्टीका नेता सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी बजेटबारे अध्ययन गर्न पठाउन लागेको हो। कार्की नेतृत्वको टोलीले प्रदेश १, २ र ३ तथा पाण्डे नेतृत्वको टोलीले गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गई बजेटबारे छलफल गर्नेछ।
पूर्वी क्षेत्रमा जाने टोलीमा सांसदहरु टोलीप्रमुख कार्कीसँगै जुलीकुमारी महतो, प्रमिला राई मेटमणि चौधरी, मोतीलाल दुगड, रामबाबु कुमार यादव र सरवत आरा खानमलगायत रहेका छन्। त्यस्तै पश्चिम क्षेत्र जाने टोलीमा टोलीप्रमुख पाण्डेसँगै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, घनश्याम भुसाल, हरिराज अधिकारी, रामकुमारी झाँक्री, जयकुमार राई, तुलसी थापा लगायत रहेका छन्।
टोलीले प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा राखेर बजेट र योजनाबारे अन्तक्र्रिया गर्ने समिति सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।
त्यस्तै बजेट कार्यान्वयन र बजेटमा समावेश गर्नुपर्ने योजनाबारे पनि छलफल गर्नेछ। दुबै टोली अध्ययनबाट फर्केपछि प्रतिवेदन तयार गरी संघीय सरकारलाई बजेट निर्माणका लागि सुझाव र निर्देशन दिने अर्थ समितिले जानकारी दिएको छ।