३ सय ७५ कुखुरा नष्ट

Bird flue
लाेकपाटी न्यूज

भक्तपुर, २७ चैत। भक्तपुरको सूर्यविनायक नगरपालिका १ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ। दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि मंगलबार राति कुखुरा मारिएको छ।

फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति एक हजार ३ सय ७५ ब्रोइलर कुखुरा नष्ट गरिएको छ। फार्ममा रहेका कुुखुरामा एचवानएनवान बर्डफ्लुको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिए।

बर्डफ्लु संक्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई सङ्क्रमणमुक्त बनाउँदै बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ। यसअघि गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भएपछि दुई हजार ९ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्