९ सय ८० मा एचआइभी सङ्क्रमण

hiv0101
लाेकपाटी न्यूज

डोटी, २७ चैत। डोटीमा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ।  जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९ सय ८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो।

सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५ सय ७० रहेको छ भने ३ सय ६० पुरुष रहेका छन्। त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ। यो सङ्ख्या जिल्ला अस्पतालमा औषधि उपचार गराउन आउनेको मात्रै भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भुषण मिश्रले बताए। जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरू चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान चिकित्सक मिश्रको भनाइ छ। उनका अनुसार अपहेलना हुनसक्ने भएकाले यहाँका एचआइभी सङ्क्रमित महिला खासै खुलेर भन्न सक्दैनन् र उपचार गराउन आउँदैनन्।

जिल्ला अस्पतालमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण अर्थात् एआरटी शाखा तथा परामर्श शाखामा अहिले कम्तीमा पनि ५ सय १८ जना नियमित सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको सो शाखाका काउन्सिलर केपी रेग्मीले बताए। उनका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी ११ जना थपिएका छन् भने विगत १०÷१५ वर्ष अगाडिदेखि पनि एचआइभी सङ्क्रमितले जिल्ला अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन्।

डोटीमा एचआइभी÷एड्सका कारण हालसम्म कति जनाले ज्यान गुमाए भन्ने विषयमा यकिन तथ्याङ्क कुनै पनि सङ्घसंस्थामा नभए पनि हालसम्म कम्तीमा पनि सय जनाभन्दा बढीले ज्यान गुमाइसकेको हुन सक्ने एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको अनुमान रहेको छ। कामका लागि भारत गएका श्रीमानले त्यहाँ गर्ने असुरक्षित यौन सम्पर्कबाट आफूलाई पनि एचाइभीको सङ्क्रमणमा पार्ने र पछि घरमा आई श्रीमतीलाई सार्ने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्