काठमाडौं, २८ चैत। भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ। पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो।
११ अप्रिलबाट सुरु चुनाव १९ मेसम्म चल्ने छ। मत गणना भने २३ मेबाट सुरु गरिने छ। तल्लो सदन लोकसभाका लागि कुल १ हजार २७९ उम्मेदवार चुनावी मैदानमा छन्।
उनीहरुको फैसला १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले गर्नेछन्। यी मतदाताका लागि १० लाख बढी मतदान केन्द्र तोकिएका छन्। भिन्नाभिन्नै राज्यमा भिन्नाभिन्नै समयमा मतदान हुनेछ। लोकसभाका लागि ५४३ सदस्य निर्वाचित हुनेछन्।
कम्तिमा २७२ सिट जुन पार्टीले जित्छ उसैले सरकारको नेतृत्व गर्नेछ। यसै चुनावबाट भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालको लागि दोहोरिने कि नदोहोरिने भन्ने फैसला पनि हुने छ। यसपटक भाजपालाई राहुल गान्धी नेतृत्वको कांग्रेसले टक्कर दिने बताइएको छ।
पहिलो चरणमा १० राज्यका सबै सिटमा बिहिबार मतदान सम्पन्न हुनेछ। यस्तै आन्ध्रप्रदेशका सबै १७५ सिट,अरुणाचल प्रदेशका सबै ६०, सिक्मिका सबै ३२ र ओडिसाका १४७ मध्ये २८ सिट विधानसभाका लागि पनि बिहीबार नै मतदान भएको छ।
पहिलो चरणमा ९१ सिटमध्ये ३३ सिटमा भाजपा–कांग्रेस या एनडीए–यूपीए बीच सीधा टक्कर हुने भारतीय मिडियाहरुले अनुमान गरेका छन्। यसमध्ये सबैभन्दा धेरै महाराष्ट्रका सात सिट छन्। चार–चार सिट असम र उत्तराखण्ड तथा पाँच सिट बिहारका छन्।
यसैगरी ३५ यस्ता सिट यस्ता छन् जहाँ तीनदेखि चार मुख्य राजनीतिक दलका प्रत्यासी आमने सामने छन्।यसमा सबैभन्दा धेरै आन्ध्रप्रदेशका २५ सिट छन्। त्यहाँ तेदेपा, वाईएसआरसीपी, भाजपा र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ। यस्तै ८ सिट उत्तर प्रदेशका छन् जहाँ भाजाप र कांग्रेसका अलावा सपा, बसपा र रालोदले आफ्नो संयुक्त उम्मेदवार उठाएका छन्।
पहिलो चरणमा आन्ध्रप्रदेश, अरुणाचल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अन्डमान र निकोबार द्वीप समूह र तेलंगनाका सबै लोकसभाका सिटमा मतदान जारी छ।
यसै चरणमा असम, बिहार, छत्तिसगढ, जम्मु–कश्मीर, महाराष्ट्र, मणिपुर, ओडिसा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही लोकसभा सिटका लागि पनि मतदान भइरहेको छ। पहिलो चरणमा केही मुख्यमन्त्री, धेरै केन्द्रीय मन्त्री र विभिन्न पार्टीका वरिष्ठ नेताहरुको भविष्य दाउमा रहेको छ।