काठमाडौं, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पूर्वराजालाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्।
गएराति ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेको प्रहरी बताउँछ।