रत्न मन्दिर र हिमागृह खुल्ला गरेर नेपाल भ्रमण वर्ष शुरुवात गरौं : सांसद पाहारी

rajib 1.jpg01
लाेकपाटी न्यूज

पोखरा २८, चैत । गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् ।

संघीय सरकारको मातहतमा रहेको उक्त दुई स्थान सर्वसाधारणका लागि खुल्ला नगरेसम्म आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने भन्दै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्तिपनि सो आवश्यक भएको बताए ।

फेवाताल पुरिँदै गएकोतर्फ इंगित गर्दै पहारीले फेवाताललाई पोखरी हुनबाट बचाउन सर्वाेच्च अदालतको आदेशअनुसार काम अगाडि बढेको जानकारी दिँदै फेवातालको मापदण्डको विषय चाँडै प्रष्ट पारिने बताए । प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष दुवैको माध्यमबाट पोखराको पर्यटनले नयाँ उचाई लिने गरी तीव्र गतिमा काम अगाडि बढाउन सरकारलाई आग्रह गरे । सांसद पहारीले सो कुरा पोखरा पर्यटन परिषद र पर्यटन सम्वद्ध विभिन्न १२ वटा संघ संस्थाहरूले बिहीबार पोखरामा नयाँ बर्ष २०७६ को शुभकामना आदनप्रदान कार्यक्रममा बताएका हुन् ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दूकुमार थापाले २०७६ साललाई नेपाल र नेपालीको संवृद्धिको निम्ति ‘माइल स्टोन बर्ष’ को रूपमा उपयोग गर्नुपर्ने बताए । अर्का सांसद रामजी बराले पोखरालाई सम्पूर्ण गण्डकी प्रदेशको मात्रै नभई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवाला सबै पक्षहरू लागी पर्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, परिषदका महासचिव डिल्लिप्रसाद गौतम लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्