काठमाडौं, २९ चैत । भारतमा तीन जना नेपालीको रहश्यमय मृत्यु भएको छ । मजदुरीको सिलसिलामा भारत पुगेका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
उनीहरु तीनै जना दाङको शान्तिनगर गाउँपालिका-२ अमुवाका स्थाइ बासिन्दा थिए । पाण्डेका अनुसार चैत ६ गते पूर्णबहादुर वली बेपत्ता भएपछि नोखिराम भण्डारी र प्रकाश वली उनको खोजी गर्न भन्दै गएका थिए। वलीको खोजीमा गएका भण्डारी र वली चैत १० गते भारतको कुल्लु मनालीको भीरमूनि मृत फेला परेका थिए।
भण्डारी र वलीको शव चैत १२ गते दाङ ल्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको थियो। वेपत्ता पूर्णबहादुर वलीलाई खोजी गर्ने क्रममा चैत २५ गते भारतको कुल्लु मनालीको पतलिकुहलको जंगलमा शव फेला परेको थियो ।वलीको शव बिहीबार दाङ ल्याइएको एसपी पाण्डेले जानकारी दिए । एकै गाउँका तीन युवाको रहस्यमय ढंगले मृत्यु भएपछि पूर्णबहादुर वलीका आफन्तले शव बुझ्न मानेका छैनन्।
आफन्तले शव बुझ्न नमानेपछि वलीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुर शव गृहमा राखिएको छ। मृतकका आफन्तलेहरुले तीन जना युवाहरुलाई षडयन्त्रपूर्वक हत्या गरिएको हुँदा मेट बनेर गएका मियालाई कारबाही माग गरेका छन्।
आक्रोसित स्थानीयले मियामाथि कारबाही माग गर्दै रातभर इलाका प्रहरी कार्यालय तुलसीपुरमा नाराबाजी गर्दै धर्ना दिएका छन्।