दुर्घटना न्यूनीकरणका लागि ‘ट्राफिक सप्ताह’ शुरु

traffic2
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । काठमाडौं उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुरु भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र त्यसअन्तर्गत रहेका विभिन्न सामुदायिक सेवा केन्द्रको आयोजनामा सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो । शुक्रबारदेखि शुरु भएको ‘ट्राफिक सप्ताह’कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान राम्रो रहेको बताए । उनले भने, ‘साँघुरो बाटो र धेरै सवारी साधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ, यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्नेछ ।’

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले सडक जनताको आधारशीला भएकाले ध्यान दिएर सडकको प्रयोग गर्न आग्रह गरेका छन् । ‘सकडकलाई मायाँ गरौँ, सकारात्मक सोच राखौँ, सडक दुर्घटना घटाऔँ’, उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताएका छन् । ‘सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनुपर्छ’, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपालको समग्र यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गरेका छन् । ‘नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई व्यवस्थित गर्नु जरुरी छ’, उनले भने ।

चालू आर्थिक वर्षमा महाराजगञ्ज वृत्तअन्तर्गत ७९२ दुर्घटना हुँदा २६ को मृत्यु हुनुका साथै ५६० घाइते भएकाले उक्त अभियान सञ्चालन गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए ।

अभियानमा वृत्तअन्तर्गतका १० कलेज, दुई विद्यालय, २१ क्लब र विभिन्न अस्पतालको सहभागिता रहेको छ । उक्त अभियानअन्तर्गत ११ चोकमा प्रत्येक दिन सवारी जाँच, सडक अतिक्रमण हटाउने, फुटपाथ व्यवस्थापन गर्ने, चालक, सहचालक र यात्रुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रसाईंले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्