कुलमान आएपछि प्राधिकरणकाे नाफा २८४ करोड

bidyut pradhikaran
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ चैत । सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷०७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ ।

महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा त्यति धेरै नाफा भएको देखाएको हो । प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । आर्थिक वर्ष २०७२÷०७३मा जगेडा तथा सञ्चित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो ।

कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आर्थिक वर्ष २०७४÷०७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो ।

घिसिङ २०७३ को भदौमा कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य गर्नुका साथै घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन् ।

घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आर्थिक वर्ष २०७३÷०७४मा प्राधिकरणले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो । आर्थिक वर्ष २०७४÷७५मा नाफा बढेर झण्डै ३ अर्ब रुपैयाँ पुगेको छ ।

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मत सम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयन लगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको बताइएको छ।

प्राधिकरणको शेयर पुँजी १ खर्ब २ अर्ब ४४ करोड, दीर्घकालीन दायित्व १ खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालू दायित्व ८४ अर्ब ७७ करोड ८० लाख समेत कुल पुँजी तथा दायित्व २ खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ छ । अचल सम्पत्तितर्फ स्थिर सम्पत्ति १ खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोडसमेत २ खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालू सम्पत्ति ६४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ छ । गत वर्ष १ अर्ब ४६ करोड ७३ लाख रहेकोमा यस वर्ष २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ छ ।

विद्युत् चुहावट झर्यो २०.४५ प्रतिशतमा
गत आर्थिक वर्षमा विद्युत् चुहावट २०.४५मा झार्न प्राधिकरण सफल भएको छ । उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत् चुहावट २०७३÷०७४को वर्षको तुलनामा २.४५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२.९० प्रतिशत विद्युत् चुहावट थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०७५÷०७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झारेको छ ।

चालू आवमा विद्युत् चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । आव २०७३÷७४मा प्रसारण नोक्सान ५ प्रतिशत रहेकोमा गत आवमा ५.६३ प्रतिशत पुगेको छ । आव २०७३÷०७४मा १६.८२ प्रतिशत रहेको वितरण नोक्सान घटेर १४.८२ मा झरेको छ । प्रसारण नोक्सान गत वर्षको तुलनामा ०.६३ प्रतिशतले बढेको छ भने वितरण नोक्सान गत वर्षको तुलनामा २ प्रतिशतले घटेको महालेखाले जनाएको छ ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानको रुपमा चलाइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्