काठमाडौं, २९ चैत । नेपाल धितोपत्र बोर्डले नयाँ वर्षको अवसरमा लगानीकर्ताहरुलार्ई रेडियो संवाद कार्यक्रम उपहार दिने भएको छ । बोर्डले रेडियो संवाद कार्यक्रम उपहार दिँदै लगानीकर्ताको गुनासो रेडियो कार्यक्रममार्फत सुन्ने भएको हो ।
बोर्डले गुनासा समाधानलाई व्यवस्थित र मितव्ययी बनाउन हरेक महिना रेडियो कार्यक्रम संचालन गर्ने भएको हो । मासिक रुपमा कार्यक्रम संचालनको लागि बोर्डले कान्तिपुर एफएमसँग सहकार्य गरेको जनाएको छ।
“लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद” नाम दिइएको यो कार्यक्रम प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७ बजेदेखि ८ बजे सम्म प्रसारण हुने बोर्डले बताएको छ । कार्यक्रमलाई विस्तारै पाक्षिक र साप्ताहिक बनाउने बोर्डको योजना छ । बोर्डका अनुसार कार्यक्रम बैशाख ४ गतेबाट सुरु हुनेछ ।
बोर्डले यसअघि पाक्षिक रुपमा महिनाको पहिलो र तेस्रो शनिबार रेडियो नेपालबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी कार्यक्रम प्रसारण गर्दै आएको छ ।