यसपटक बुद्धकृष्णले जिब्रो छेड्ने

Buddhakrishna
लाेकपाटी न्यूज
0 Shares

भक्तपुर, २९ चैत । मध्यपुर थिमिमा वैशाख २ गते हुने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यसवर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।

जात्रालाई निरन्तरता दिन बोडेका स्थानीय ४७ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन्। उनले यसअघि २०६२ सालदेखि ०६५ सालसम्म ४ पटक जिब्रो छेडिसकेका छन्। २०६६ सालमा श्रीमती सुत्केरी भएपछि उनले जिब्रो नछेड्ने घोषणा गरेका थिए।

त्यसपछि जुजुभाई श्रेष्ठले ८ वर्ष जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिएका थिए। दुई वर्षअघि जुजुभाईले श्रीमती र भाउजू बिरामी भएका कारण जिब्रो नछेड्ने घोषणा गरेपछि पुनः बुद्धकृष्णले नै जिब्रो छेडाएका थिए। यो जात्रामा बोडेबासीका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नुपर्ने परम्परा रहेको छ। जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउँछन्।

जात्राको लागि मध्यपुर थिमि नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थानलगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। स्थानीय पाचोबाट सुरु हुने यो जात्रा बोडेको विभिन्न स्थान र नगरको परिक्रमापछि पुनः पाचोस्थित महालक्ष्मी मन्दिरमा पुगेर समापन हुने गर्दछ। यो जात्रा बोडेमा बैशाख २ गते करिव ११ र १२ बजेतिर पाँचो गणेशको पूर्वपट्टि रहेको (बोडे उच्च माविको उत्तरपट्टी) मञ्चबाट सुरु गरिन्छ। जिब्रो छेड्ने कमी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुईरो बनाउने नकर्मीलाई लिन जान्छ ।

एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो (जिब्रो छेड्ने सियो) सहित नकर्मी मञ्चमा आउँछ र पुनः नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई तीन पटकसम्म बोलाउन जान्छ। अन्तमा जिब्रो छेड्ने व्यक्ति परम्परागत पोशाकसहित मञ्चमा आउँछन्। नाइके प्रधानले फूल, अक्षता र पैसासहित दिएको सुइरो (नातु) ले कर्मी नाइकेद्वारा सम्पूर्ण देवतासँग प्रार्थना गरी जिब्रो छेड्ने कार्य गरिन्छ ।

यो जात्रामा जिब्रो छेड्ने ब्यक्तिले तीन दिनसम्म केही खान नहुने, पशुपन्छी र आइमाईलाई छुन नहुने परम्परा रहेको छ। यदि छोएमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वास रहेको पाइन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्